प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीनै तहका निर्वाचन सम्पन्न हुने भन्दै त्यसको तयारी गर्न अनुरोध गरेका छन्।
शुक्रवार अपराह्ण राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले कोरोनाभाइरस महामारी नियन्त्रणको प्रयास र आफ्नो सरकारले विगत छ महिनामा हात पारेका उपलब्धिबारे चर्चा गरेका थिए।
“एक वर्षभित्रै तीन तहका चुनाव गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ। निर्वाचनका पूर्वतयारी सम्पन्न गर्न म सबैसँग अनुरोध गर्दछु,” उनले भने।
सत्ताधारी दलहरूबीच अर्को वर्षको प्रारम्भमा गर्नुपर्ने भनिएको स्थानीय तहका चुनावको मितिबारे मतभेदहरू बाहिर आउँदा देउवाको यस्तो भनाइ आएको हो।
यसै साता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद्मा गतिरोध जारी रहेकाले सुरुमा सङ्घीय संसद्को निर्वाचन गराएर त्यसपछि अर्को वर्षको मध्यतिर स्थानीय चुनाव गराउनु उपयुक्त हुने धारणा राखेको भन्ने विवरणहरू आएका थिए।
नेपाली कांग्रेसका कैयौँ नेताहरू र प्रमुख विपक्षी दल एमालेका नेताहरूले आगामी वैशाखमा नै स्थानीय तहको चुनाव गराउनुपर्ने माग गर्दै आएका छन्।
देउवाले सत्ता सम्हालेयता प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध बनाउँदै आएको छ।
देउवाले व्यवस्थापिकामा रहेका सबै दलहरूसँग छलफल गरेर संसद्को गतिरोध चाँडै अन्त्य गर्ने पनि धारणा राखेका छन्।
देउवाले आफ्नो नेतृत्वको सरकारले अङ्गीकार गरेका नीतिप्रति जनताको समर्थन रहेको भन्दै संविधान र संवैधानिक प्रणालीको रक्षा भएको दाबी गरेका छन्।
“जनतामा त्रास र भय एवं राजनीतिक स्थायित्व प्रतिको संशयको अन्त्य भएको छ,” उनले भने।