नेपाली कांग्रेसले प्रधानमन्त्रीले राख्‍ने विश्‍वासको मतको विपक्षमा मतदान गर्ने भएकाे छ ।

सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले संसदमा राख्ने विश्‍वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ,’ उनले भने, ‘पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो। त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुन्छ।’

प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने बताएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद बैठक आह्वान भइसकेको छ।

कांग्रेसले ओली सरकार हटाउन अरू दलसँग पनि पहल गर्ने निर्णय गरेको छ। केन्द्रदेखि लुम्बिनीलगायत प्रदेशमा असंवैधानिक क्रियाकलाप प्रधानमन्त्रीमार्फत् भइरहेको भन्दै कांग्रेस बैठकले भर्त्सना पनि गरेको महतले बताए।

अन्तिम पटक अध्यावधिक गरिएको 906 Viewed

प्रतिक्रिया दिनुहोस्