अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३२औं मजदुर दिवसको अवसरमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरुका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रेस बिज्ञप्ति मार्फत शुभकामना सन्देश व्यक्त गरेका छन्।प्रेस बिज्ञप्ति :-
अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३२औं मजदुर दिवसको अवसरमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
अहिले विश्वनै नोवल कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारणले आक्रान्त भएको छ। करिब डेढ वर्षदेखि फैलिरहेको यस भाइरसको दोस्रो लहरले विश्वभर तथा नेपालमा पनि दैनिक रुपमा यसको संक्रमण तथा निधन हुनेको संख्या बढ्दै गएको छ। श्रमिक दिवसको यस अवसरमा कोरोना संक्रमणबाट निधन हुनुभएका मजदुर एवं सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, यस भाइरसबाट संक्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबर्द्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागो शहरमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो। सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ।
विभिन्न आरोह अबरोह पार गर्दै आफ्ना अधिकारहरु स्थापित गराउन सफल श्रमिक तथा मजदुर वर्ग कोरोनाको महामारीका सबैभन्दा बढी समस्यामा परेका छन्। अहिले महामारीको दोस्रो लहर तिब्र गतिमा बृद्धि भइरहेकाले लकाडाउन तथा निषेधाज्ञा जारी हुँदा देश विदेशमा काम गरिरहेका श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएको छ।जसका कारणले उनीहरुले आफ्नो दैनिक जिविकोपार्जनमा समेत कठिनाई भोग्नुपरेको छ। राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुरको हक हितका लागि सरकार गम्भीर हुनुपर्दछ। त्यसकारण नेपाल सरकारले कोरोनाको समस्याबाट प्रभावित श्रमिक तथा मजदुरको उचित व्यवस्थापन तथा रोजगारीका लागि विशेष कार्यक्रम ल्याउनु पर्दछ।
अन्त्यमा, यस अवसरमा कोरोना संक्रमणलाई विश्वले छिट्टै पराजित गर्दै जनजीवन सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गर्न चाहन्छु। साथै, सम्पूर्ण श्रमिकहरुलाई यस संकटको घडीमा धैर्यधारण गरी राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्न तथा आफ्नो हक–अधिकारको सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना व्यक्त गर्दछु ।
१८ वैशाख २०७८।
गणेशप्रसाद तिमिल्सिना
अध्यक्ष, राष्ट्रिय सभा
