पोखरा महानगरपालिकाको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनमा मनोमानी भएको दाबी गर्दै नेपाली काँग्रेस पोखरा महानगर नगर समितिले मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको छ ।
कांग्रेस नगर समितिको तर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर जिसीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि प्रतिपक्ष दलका सुझाव र काँगे्रेसबाट निर्वाचित वडाध्यक्षहरुले गरेको ध्यानाकर्षणप्रति महानगर मौन बसेको भन्दै पुनः ज्ञापनपत्र बुझाइएको श्रेष्ठले जनाए ।
ज्ञापनपत्रमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषय उजागर गर्ने स्पष्ट र इमानदार लेखा प्रमुखलाई उल्टै स्पष्टिकरण सोधिएको भन्दै आपत्ति जनाइएको छ । महानगरको आर्थिक अनियमितता उजागर हुने डरले अहिले लेखा प्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको कांग्रेसको दाबी छ ।
महानगरपालिकामा कर्मचारीको व्यवस्थापन, योग्यता र क्षमताका आधारमा नभई राजनैतिक आस्था आधारमा गरिएकोप्रति भन्दै नगरको ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । महानगरमा अस्थायी तथा करारमा भर्ना भएका प्राविधिक तथा अन्य कर्मचारी विभिन्न शाखामा प्रमुखको जिम्मेवारीमा नै कार्यरत रहेको र अर्काेतिर आस्थाकै आधारमा स्थायी तथा वरिष्ठ कर्मचारीलाई जिम्मेवारीबाट पन्छाउने गरिएको भन्दै कांग्रेसले निन्दा गरेको छ ।
हालै महानगरका विभिन्न ठाउँमा भएका दैवीप्रकोपका घटनाका पीडितलाई उचित सम्बोधन गर्न नसकेको र मृतकका परिवारलाई अनुरुप राहत उपलब्ध नगराएको भन्दै तत्काल राहत दिलाउन माग गरिएको छ । वर्षाका कारण नगरका सडक भत्किएको र खाल्डाखुल्डी परेकाले तत्काल मर्मत गर्न आग्रह गरिएको छ ।