नेपालमा मिति २०७८।१०।०२ देखि नेपालका सबै उच्च अदालतहरु र केही जिल्ला अदालत (सर्वोच्च अदालतमा गत मार्ग १५ गतेनै लागू भएको) हरुमा पेशी ब्यवस्थापमा गोलाप्रथा आरम्भ भएको छ ।
हिजोसम्म पेशी तोक्ने कामको जिम्मेवारीमा रहेर कामगर्दा सँस्थागत जवाफदेहिताको अर्थ र मान्यताको दृष्टिबाट परिचितहरु, सहकर्मीहरु, मान्यजनहरु र सम्बद्द पेशाकर्मीहरुमध्ये केहिको गुनासो र आलोचनाको पात्र बनेकोमा ब्यक्तिगत जिम्मेवारी नरहने भएकोले आजदेखि ततसम्बन्धी आलोचना मुक्तिको शुभ-आरम्भको दिनपनि हो । तर पेशी ब्यवस्थापनका सम्बन्धमा आरम्भ गरिएको गोलाप्रथामा सैदान्तिक रुपमा न्यायमा पूर्वसेटिँगको आलोचनालाई धेरैहदसम्म ब्यबस्थापन गर्ने यसको सकारात्मक प्रभाव बाहेक निम्न बमोजिमका धेरै नकारात्मक प्रभावहरुको आरभ्भको दिनका रुपमा रहनेछ भन्ने मेरो पूर्वआँकलन (बुझाई) रहेकोछः
(१) न्यायमा मानवविवेक र सदविवेकमाथिको अविश्वासको दिन, (२) न्यायमा यान्त्रिकता र भाग्यवाद आरम्भको दिन, (३) लामो समय यही नेपालमै प्रयोगभइ जवाफदेहिता र क्षमताको विशिष्ठकरणसमेतको आवश्यकतावोधको आधारमा दुइ दशक अगाडि हटाइएको गोलाप्रथा पुनः प्रयोगमा ल्याइएको दिन, (४) सर्वोच्च अदालतकै सँवैधानिक इजलासमा, एकमात्र न्यायाधीश रहेका करिब ४०% जिल्ला अदालतहरुमा, राजश्व न्यायाधीकरण, ऋणअसुली न्यायाधिकरण, ऋण असुली पुनराबेदन न्यायाधीकरण, बैदेशिक रोजगार न्यायाधीकरण, श्रम अदालत आदिमा प्रयोग हुन नसक्ने र प्रयोग गर्न नपर्ने तर अन्यत्रमात्र प्रयोग गर्नुपर्ने गरी पेशी ब्यवस्थापन आरम्भ गरिएको दिन, (५) ब्यबहारतः न्यायलाई झन खर्चिलो र झनै बिलम्ब बनाउने पद्दतिको आरम्भको दिन, (६) सँथागत नेतृत्वदायी भूमिकाको गरिमा, महत्व र क्षमतामाथि अबिश्वास तथा अवमूल्यनको आरम्भको दिन, (७) केही ब्यक्तिहरुमाथिको अविश्वास वा पूर्वाग्रहको कारणले स्थापित पद्दति बलपूर्वक परिवर्तन गरिएको दिन, (८) न्यायमा बिषयगत विशेष क्षमता मूल्यहिन बनाउने र न्यायमा विशिष्टिकृत क्षमतालाई हतोत्साहित गर्ने यात्रा आरम्भ भएको दिन, (९) ब्यवस्थापकीय दृष्टिबाटपनि झण्झटिलो र एकपछिअर्को समस्याहरु सिर्जना आरम्भको दिन, (१०) सँसारमै अपबाद बनेको पद्दति अबलम्बन गर्दै, न्यायमा न्यायाधीश अर्थात मानवलाई विश्वास गरेको विश्वब्यापी मान्यता र जनमतलाईसमेत चुनौति दिइएको दिन, (११) छिटो, छरितो र प्रभावकारी न्यायको जनअपेक्षा सँवोधित हुन बाधा पार्ने पद्दित आरम्भ भएको दिन, र (१२) केही समयपछि पुनराबलोकन गर्नु, गराउनुपर्ने सैदान्तिक एवम ब्यबहारिक न्यायिक बाध्यात्मकता वोध गराउने गरी गोलाप्रथा लागू भएको दिन, का रुपमा मैले बुझेको छुँ ।
आगामी दिनहरुमा कार्यक्षेत्रमा पेशी ब्यवस्थापनमा गोलाप्रथा पूर्णरुपमा प्रभाकारी बनेर मेरा उल्लिखित बुझाईहरु गलत साबित हुन सकुन । पेशी ब्यवस्थापनमा गोलाप्रथा आरभ्मको लागि अहमभूमिका निर्बाह गर्ने समआदरणीय मान्यवरहरु, अग्रजहरु, सम्बद्द विधिशास्त्रीहरु एवम न्यायशशास्त्रीहरु तथा सम्बन्धित पेशाकर्मीहरुको हिजोसम्मको चिन्ता, चासो र श्रमको सम्मान हुन सकोस ।
अदालतहरुमा हुने पेशी ब्यवस्थापनमा गोलाप्रथाले कार्यक्षेत्रमा अबकादिनमा सकारात्मक प्रभावकासाथ उच्चतम सफलता प्राप्त गर्न सकोस । यही शुभकामना र सतत चाहना ।