गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले कानुनका बिज्ञसंग समन्वय गरेर अगाडि बढ्ने बताएका छन ।
आइतबार पोखरा उच्च अदालत बार एशोसियसनले राखेको बधाई तथा स्वागत कार्यक्रममा बाेल्दै मन्त्री थापाले उक्त कुरा बताएका हुन ।
हालसम्म गण्डकी प्रदेश सरकारले ४८ वटा कानुन निर्माण गरेको र ४ वटा कानुन बिचाराधिन अवस्थामा रहेको जानकारी गराउदै, मन्त्री थापाले कानुन निर्माण मात्र महत्वपूर्ण नभइ बनाइएको कानुनलाइ कार्यन्वयन गर्न सके मात्र कानुनको औचित्य रहने बताए ।
यस भन्दा अघि संघीय कानुन नबन्दै प्रदेश सरकारले कानुन पारित गर्दा कतिपय कानुन बाझिएकाले समस्या भएको बताउदै उनले, अभ्यास गरिरहेका कानुन व्यवसायीलाई कानुनी क्षेत्रका विषयमा सुझाव दिनका लागि आव्हान समेत गरे ।
पोखरा उच्च अदालत बार एशोसियसनका सदस्य समेत रहेका मन्त्री थापाले वारकाे भवन मर्मतका लागि प्रदेश सरकारबाट रु ३० लाख छुट्टाइएकाे जानकारी गराए । उनले नेपाल बार एसोसिएसनको अगामी सम्मेलन पर्यटकीय नगरी पाेखरामा अायाेजना गरेमा आफ्नो पूर्ण सहयोग र समर्थन रहने बताए ।
कार्यक्रममा पोखरा उच्च अदालत बार एशोसियसनका निवर्तमान अध्यक्ष समेत रहेका गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता रोहितराज बास्ताेलाले आफुलाई प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा नियुक्त गरेर पोखरा उच्च अदालत बार एशोसियसनलाइ सम्मान गरेकाे उल्लेख गरे ।
नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापा मगरले कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा कानुनका विद्धार्थी समेत भएकाले गल्ती गर्ने छुट नभएकाे बताउदै मन्त्री थापा र न्यायधिवक्ता बास्ताेलालाई कानुन ब्यबसायीहरुलाई रिट लेख्न नपर्ने गरी प्रदेश सरकारमा बसेर काम गर्न आग्रह गरे ।
उक्त कार्यक्रममा उच्च अदालत पोखरा आएका न्यायाधीशहरु बालकृष्ण उप्रेती, उज्जल शुक्ल र श्रीधर कुमारी पुडासैनी, ,बरिष्ठ अधिवक्ता कृष्ण गुरुङ पोखरा उच्च अदालत बार एशोसियसनका पुर्वअध्यक्ष फडिन्द्र कोइराला, महिला समिति संयोजक बिनिता नेपाली, डिएलए कास्कीका अध्यक्ष बिष्णु प्रसाद मरासिनी ,एन एल ए कास्कीका अध्यक्ष सुकदेव गौतम, अधिवक्ता बेदनाथ पंडित लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
पोखरा उच्च अदालत बार एशोसियसनका अध्यक्ष नारायण पाैडेलकाे अध्यक्षतामा सम्पन्न बधाई तथा स्वागत कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा र गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता रोहितराज बास्ताेलालाई बधाई तथा उच्च अदालत पोखरामा सरूवा भई आएका न्यायाधीशहरु बालकृष्ण उप्रेती, उज्जल शुक्ल र श्रीधर कुमारी पुडासैनीलाई स्वागत गरिएकाे थियाे ।