राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार “अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइनेछ।”

शनिवार बसेको बोर्डको बैठकले “अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा स्थगित गर्न निर्णय गरेको” सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए।

यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो।

तर कोभिड महामारीबीच भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गराउने बोर्डको निर्णयप्रति धेरैले असन्तुष्टि जनाउँदै आएका छन्।

केही दिनयता नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अन्तिम पटक अध्यावधिक गरिएको 357 Viewed

प्रतिक्रिया दिनुहोस्