हेमजावासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराललाई आग्रह गरेका छन् । बिहीबार हेमजामा आयोजित बधाई ज्ञापन कार्यक्रममा उनीहरुले मन्त्री बराललाई जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा अर्थमन्त्री बरालले आफू प्रदेशको मन्त्री भएकोमा प्रदेशका जनताको आवश्यकता र प्रथामिकता आधारमा र चुनावमा जनता सामु गरेका वाचा पूरा गर्ने बताए । निर्वाचनका बेला, निर्वाचन पश्चात र हाल पनि कम्युनिष्ट एक हुनु पर्छ भन्ने हेमजाबासीको सन्देशले आफूहरुलाई पनि बामएकता हुनुपर्ने पक्षमा रहेको उनले बताए ।
पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले नेपालका कम्युनिष्टहरु एक हुनु पर्ने बताए । पोखरा महानगरपालिकाले आफ्नो वडालाई सौतनी व्यवहार गरेर माग गरेको बजेटमा न्यूनतम बजेट विनियोजन गरेको उनले गुनासो गरे ।
नेपाल कम्युनिष्ट पार्टी पोखरा २५ हेमजा कमिटीको संयोजनमा भएको कार्यक्रममा स्थानीय आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्था र विभिन्न दलका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा नेता माधवशरण पौडेलले बताए । हेमजा लाम्पाटा, हेमजा सुइँखेत खोला नियन्त्रण समिति, याम्दीका आमा समूह लगायतले स्थानीय रुपमा रहेको समस्या समाधान गर्न मन्त्रीसमक्ष आग्रह समेत गरेका छन् ।