पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीको स्वास्थ्यमा केही सुधार आएको सचिवालयले जनाएको छ ।
मस्तिष्कघात भएपछि उनको अहिले काठमाडौं, बाँसबारीस्थित स्नायु (न्यूरो) अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान अचानक स्वास्थ्यमा खराबी आएपछि उनलाई पोखराकै मणिपाल अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँ उनलाई मस्तिष्कघात (ब्रेन ह्यामरेज) भएको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेका थिए ।
सचिवालयले शुरुमा हृदयघात भएको जानकारी दिएपनि पछि मस्तिष्कघात भएको खुलेको थियो ।
मणिपालमा प्राथमिक उपचारपछि दिउँसो हेलिकप्टरबाट काठमाडौं थप उपचारका लागि लगिएको थियो ।
उच्च रक्तचापका कारण मेयर जीसीलाई मस्तिष्कघात भएको थियो ।
मस्तिष्कघातका कारण शरीरको देब्रे भागमा समस्या देखिएको मेयर जीसीका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन् ।