अत्यन्त शारिरीक पीडा, अत्यन्त ज्वरो, अत्यन्त आलश्य र अत्यन्त अमनकासाथ अन्तमा फोक्सोको क्षमतामा ह्रास ल्याइ श्वासप्रश्वास मै अवरोध पारी मानिसको जीवन लिने कोभिड यतिबेला सबैको साझमा शत्रु बनेको छ । यसको कारण के हो ? कोही भन्न सक्दैन । अतिआध्यात्मिक चेतले भन्ला -सँसार पापमय भयो त्यसैले इश्वरले दिएको दण्ड ? अति भौतिकमय चेतले भन्ला -सन्तुलित जीवन पद्दतिको अभावको कारण ? जैविकशास्त्रीहरु भन्लान-भाइरस को कारणले हो ।
जसले जे जे भनेपनि यो मावनजातिको काल बनेर आएको छ । धनी-गरीब, विद्वान-मूर्ख, चोर-साधु, ज्ञानी-अज्ञानी, सुन्दर-कुरुप कोही भन्दैन र भनेको छैन यसले । पाएसम्म र भेटेसम्म सबैलाई लगेको छ र एकपछि अर्को गर्दै लग्दैछ । पहिलो, दोस्रो, हुदै तेस्रो भेरियन्ट (रुप ?) मा देखापर्दै सँसार चाहारिरहेको छ । मानव सभ्यतामाथि नै छापा मारिरहेको छ । हरेक वस्तीका मान्छेहरुमा आजै कोभिडले छोप्ने हो कि भोलि छोप्ने हो अथवा छोपी सकेकाहरुलाई आजै लैजाने हो कि भोलि लैंजाने हो ……? एकप्रकारको कोलाहल पैदा गरेको छ ।
कोभिडको प्रभावले सँसार अछुतो छैन । देशको स्वास्थ्य नीति, जन सँस्कार तथा चेतनाको स्तर, सम्बन्धित सरकारको क्षमता र ब्यवस्थापकीय कौशलता एवम स्थास्थ्यकर्मीहरु /समाजसेवीहरुको सेवाभावको गहिराइ सहितका विविध आधारहरुले कतै कम प्रभाव र कतै बढी प्रभाव पारेको छ यसले तर सँसारभर प्रभाव पारेको छ । सँसारभार मान्छे मारेको छ ।
सँसारमा सबैभन्दा बढी कोभिड प्रभावित देश नेपाल हुन लागिरहेको वर्तमान अवस्थामा हामी समस्त नेपालीहरुमा झनै चिन्ता हुनु वा एकप्रकारको सन्त्रास फैलनु स्वभाविक हो । तर यो समय भनेको मनभित्र डर पालेर होइन, मनभित्र भर पालेर जीउने समय हो । खान-पान, रह-सहन, बोली-ब्यवहार सबै सबैमा रुपमान्तरित हुने समय हो । कोभिड नलाग्दा सम्म हो, लागेपछि लाग्यो लाग्यो । खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेझै हो कोभिड लागेपछिको ज्ञान वा अनुभवको बिषय । कोभिड लागेपछि खान मन नलाग्ने तर नखानुकै कारणले शारीरिक शक्ति क्षिण भएर कोभिडले आफूसँगै लैजाने ?! उता बिरामीले वलपूर्वक तरल पदार्थपनि नखाने वा खान नमान्ने यता बाबु आमा वा सँरक्षकहरुको मन भतभती पोल्ने ? कोभिडको कारणले फोक्सोले काम नगरी श्वासप्रश्वास नै बन्द हुने स्थिति भएर भेन्टिलेटरमा राख्नु पर्ने तर त्यही अक्सिजनको हाहाकार हुने अनि अक्सिजनको अभावमा आफ्नै अगाडि आफनै मान्छेले मृत्यु वरण गर्नुपर्ने जस्तो ह्दयविदारक र कठोर समय सुन्नु, देख्नु र भोग्नु परिरहेको छ आजको मान्छेले ।
कोभिडको मूल कारण ततकाल पत्ता नलागेपनि कोभिडको नियन्त्रणका लागि सम्भव उपायहरुको खोजी नहुनु वा पत्ता लागेका उपायहरुको सम्भव प्रयोगसम्म पनि गर्न नसक्नु शासकीय एवम सम्बन्धित ब्यवस्थापकीय कमजोरीको बिषय हो । हर मान्छेले सुखमा सहयोगको अपेक्षा राख्दैन । दुख्खमा राख्दछ । सङ्कटमा सरकार र सरकारको सकारात्मक प्रभाव चाहिन्छ । सङ्कटमा नभएको वा नदेखिएको सरकार जनताका लागि सधै शासक मात्र बन्न पुग्दछ । वर्तमानमा नेपाल नामक मुलुकी अवस्था भनेको कोभिड आयो र कोभिडले लग्यो त के गर्ने ? भन्ने मात्रको अवस्थामा पुगेको छ । अस्पत्तालहरु कोभिड बिरामी लिन नसक्ने उदघोष गरिरहेका छन् । अक्सिजनका सिलिण्डरहरु शक्तिकेन्द्रका लागि भुमिगत बस्न लागि रहेका छन् । यस्तो भयावह अवस्थाको कल्पना गरिदैछ कि कतै कोभिडले आधा सँसार त लैजाने होइन भनेजस्तो ? सकेसम्म बाहिरै निस्कनु हुदैन भनिदैछ तर निस्कनै परे निस्कनु परयो । त्यसबखत कोभिडले छोपे र कोभिडकै कारणले जीवनको इहलिला समाप्त भएपनि सहनु नै परयो । कालको औखति छैन रोगको मात्र ओखति हुन्छ भनेको यही र यस्तै रहेछ । कोभिडको अचूक ओखति छैन । केवल स्वनियन्त्रण र स्वब्यवस्थापन नै हो ।
मनुष्यको जन्म भन्दा सँसारमा अरु कुनै जन्म छैन । मृत्युको एकपल अघिसम्म रमाउदै खुसी मनाउ । ‘’जीवन उत्सवमय छ, हरेकदिन उत्सवमय बनाउ र बाँचौ’’ भन्ने सम्झेर बाच्ने वा ‘’मृत्यु अन्तिम सत्य हो, मृत्युलाई उत्सवका रुपमा लिन सकौ’’ भन्ने सम्झने ? अथवा मृत्युलाई शास्वत सम्झेर हरेक दिन बिहानै अरुको चिहानको वरिपरि घुमेरमात्र दैनिकी सुरु गर्ने ….? यावतछन जीवन यात्राप्रतिका सोँच र भोगाइहरु ।
‘’हरेक दुःख नराम्रा कामका भुक्तानी हुन’ (विवेकानन्द) भनेपनि प्राकृतिक दुःख (कोभिड)लाई ब्यक्तिका नराम्रा कामको भुक्तानीका रुपमा लिन सकिदैन । ब्यक्तिगत नराम्रा कामहरु- अज्ञानता, मूर्खता, अविवेक , अतिआलश्य अतिभय, अतिमैथुन, अतलोभ, अँहकार सहितका अतिबिचार र अतिब्यवहारहरुका कारणले उत्पन्न दुःखहरुको दण्ड सम्बन्धित मान्छेले पाउनुसम्मलाई उसका नराम्रा कामहरुको भुक्तानीका रुपमा लिन सकिएला तर कोभिड कुनै एक मान्छेले गरेको नराम्रा कामको परिणाम होइन न त सबै मान्छेहरुको सामुहिक यो नराम्रो कामको कारणले उत्तपन्न भएको दुःख हो भन्ने एकिन हुन सकेको छ । प्रकृतिलाई प्रकृतिसम्मत रुपमा चलन र सञ्चालन गर्न नसक्दा उत्पन्न हुने बिकारहरुको परिणाममध्ये एक कोभिड अर्थात खतरनाक भाइरस त होइन ? यो भने बिचारणिय र मननीय बिषयका रुपमा देखा परेको छ ।
जे होस सबै अर्थमा कोभिडको जन्म र बिकास तथा प्रभाव सबैकालागि हानिकारक छ । तर भनिन्छ “’कालो बादलका बिचमा पनि चाँदीको घेरा हुन्छ’’ । हो यस्तै अवस्था देखिदैछ कोभिडको सँकटका बिचमा पनि ।
कोभिडले ल्याएको कोलाहलता र नकारात्मकताका आधिँवेहेरीहरुका बिचमा देखिएका हालसम्मका सकारात्मक पाटाहरुलाई निम्न रुपमा लिन सकिन्छः
- यथार्थतावोधः
जीवन सत्य हो र जीवनभन्दा परमसत्य मृत्यु हो । मान्छेले पहिलो सास फेर्दा जीवन पाउँछ र अन्तिम सास फेर्दा जीवन गुमाउँछ । धन सम्पत्ति र सम्बन्ध सबै जीवनका लागि हुन । धन सम्पत्ति मान सबै सबै जीवन रहेसम्मका लागि हुन । मर्दा साथ जाने भनेको सम्झनाहरुमात्र हुन । परिवार, समाज र देशका लागि गरेका सुकार्यहरुको सम्झनाहरुमात्र बाकी छोडेर सबै सबै आफ्नै साथमा लिएर जान बाध्य हुन्छ मान्छे । कमाउनु भनेको आफ्ना लागि र आफ्ना लालाबालाहरुको खानपानसम्मका लागि हो तर सन्तान दरसन्तानका लागि कमाउने सोच र कर्म दुःखको अर्को खोजी हो । लाएको धनले र खाएको मनले मात्र पुण्य सम्झन्छ । पूर्विय दर्शनमा आधारित औसत मान्छेहरुले कमाएको ७० प्रतिशत छोडेर जान्छन । केवल ३० प्रतिशतमात्र खर्च गर्छन तर पश्चात्यचिन्तनका मान्छेहरु कमाएको ७० प्रतिशत खर्च गर्दछन । मात्र ३० प्रतिशत छोडेर जान्छन । त्यहिपनि अधिकले त समाज र देशका लागि दान दिएर जान्छन । खानकालागि बाच्ने कि बाँच्नका लागि खाने ? सुखका साथ बाँच्ने कि धौधौका साथ बाँच्ने ?? खाने बाँच्ने र मर्ने कि मरेरपनि बाँच्ने सपना देख्दै सुकार्यहरु गरेर बाँच्ने र मर्ने । मृत्यु देखि डराएर बाँच्दै मर्ने कि मृत्यु अवश्यमभावी सत्य हो भन्ने सम्झेर हासिँ हासी मर्ने ? फरक फरक बुझाइ को बिषय हो र हो समय चेतनाको कुरापनि ।
कोभिडले मान्छेमा बिचार र स्वभाव बदल्न सिकाएको छ । ब्यबहार बदल्न उत्प्रेरित गरेको छ । प्रकारान्तर रुपले झोपडी बदलेर होइन, खोपडी बदलेर मात्र सुखी हुन सकिन्छ भन्ने पाठ सिकाइरहेको छ । मानवतावादी चिन्तनकासाथ बोल्ने, बस्ने, खाने, लाउने र अरुसँग गर्ने हरेक ब्यवहारहरुमा सकारात्मक परिवर्तनलागि सँकेत गरेको छ । जीवन एकप्रकारको वगैचा हो, शरद वसन्त शिशिर र गृष्म यही जीवनभित्र छ । हरेकका आ आफ्नै चिन्तन र ब्यवहार भित्र छन् । समस्त मावनजातीमा जीवनलाई शरद, वसन्त, शिशिर र गृष्म बनाउने मानव चिन्तन र ब्यवहार नै हो भन्ने यथार्थताको वोध शनैः शनैः कोभिडले गराउदै गएको छ । जति लपेट्यो त्यति जीवन र जगत प्रतिको यथार्थताको वोध गराउने अवश्य छ ।
- सम्यक जीवनको वोध:
भनिन्छ; बिचार, आहार, बिहार र ब्यबहारमा सम्यकपन मानिसको दीर्घजीवनको मूल आधार हो । सुवासमय जीवनको मूल राजमार्ग हो । खराब बिचार राख्दा असल काम हुनै सक्दैन । खराब खानाले स्वास्थ्यमा हानी अवश्य हुन्छ । जथाभावी यात्रा कष्टकर हुनु स्वभाविकै हो र अरुप्रतिको तामसी वा द्वेषात्मक ब्यवहारले जीवनको वास्तविक मुस्कान पाउन सकिदैन । मुस्कान दिए मुस्कान पाइन्छ र आफूले क्रोध फ्याँके क्रोध नै फर्कन्छ । कोभिडले क्रमशः हरेक मानव जातीलाई सम्यक जीवनको वोध गराएको छ ।
‘’गफ लडाउने काम कहिल्यै नगर । अल्छि सुतुवा पनि नबन । प्रशिद्दि मात्र खोज्ने अतिमहत्वाकाँक्षी कहिल्यै नबन । लोभका पछाडि कहिल्यै नदगुर । घटिया नबन र घटिया मान्छेको सँगत कहिल्यै नगर । प्रतिपल बिचार आहार बिहार र ब्यवहारमा सचेत रहू … ‘’ शरीर त्याग गर्नुअघि बज्जी राज्यबारे आफ्ना भिक्षुहरुलाई बुद्दे यसरी नै भनेका थिए सम्यक जीवनका लागि । मानव रुपी जीवन मान्छेको सबैभन्दा ठूलो उपलब्धि हो र जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेको शान्ति र आनन्द प्राप्ति हो । कुनै धर्म शास्वत छैनन । सबै अनित्य छन । सदधर्म मार्गअनुरुप जीवन बिताउदा नै मान्छेलाई शान्ति र आनन्द प्राप्ति हुन्छ । जीवन र ब्यबहारसित मेलखाने शिक्षा ज्ञान धर्म र ब्यबहार अपनाउन सक शान्ति र आनन्द प्राप्ति हुन्छ भन्ने जस्ता सम्यक जीवनका आधारहरुलाई बुझन् लालयीत छ मान्छे यतिवेला।
- सेवाभाव जागृतः
कोभिड सङ्कटको समयचेतनाले मान्छेहरुमा दया प्रेम सदभाव र सहयोगको भावना बढाएको छ । सँसार नाशवान छ । जन्म छ मृत्यु छ । बिकास छ, बिनास छ । मिलन छ, बिछोड छ । सँसारमा सुख छ, दुःख छ । अर्थात जहा जन्म छ, त्यहा मृत्यु छ र जहा जीवन छ त्यहा जीवन मुक्तिको पनि उपाय छ । जीवन मुक्तिको उपाय भनेको शान्ति र आनन्द हो । शान्ति र आनन्दको एक उपाय हो सेवाभाव अर्थात अरुलाई दिनु अर्थात आफू जस्तैको र सके प्राणिजगतकै सेवा गर्नु हो भन्ने भावना जागृत गराएको छ । रातरात जागेर वा सकेसम्म लागेर अक्सिजनका सिलिण्डरहरु खोज्न दौडिरहेका छन् मान्छेहरु । कराइरहेका छन सरकारसँग अरु केही नभएपनि अक्सिजनको जोहो गर ……।निश्वार्थ भोजन दिलाइरहेका छन । आफू चढ्ने सवारी साधनहरुलाई एम्बुलेन्स बनाइरहेका छन् । जससँग जेछ, त्यसैको प्रयोगले धेरै मान्छहेरु मान्छेको जीवन जोगाउनका लागि लागिरहेका छन् ।
बाँच्नुको अर्थ शान्ति र आनन्दमय जीवन हो तर जीवनको अर्थ अरुको सेवामा समर्पणहो भन्ने जिनवोध हुन लागिरहेको छ अधिकाँश मान्छेहरुमा । सँसारमा आफैले सत्य वा तत्व देख्ने मान्छेहरु ज्यादै कम हुन्छ । अरुले देखाएपछि मात्र देख्नेहरु धेरै हुन्छन । यतिवेला कोभिडले देखाइदिएको छ सेवभावको आवश्यकताको तत्व । देख्दै नदेख्ने मान्छेहरु कोभिड आवस वा जुनसुकै भिड आवस केही देख्दैनन । तिनीहरुमध्ये कतिले त आफू र आफ्नाहरुलाई चाहिन्छ भनेर अक्सिजनका सिलिण्डरहरु राज्यशक्तिको दुरुपयोग गर्दै ओसारेर अँध्यारा गल्लीमा लुकाएर राखेका छन् । मौका यही हो भन्दै कोभिड प्रतिरोधमा औषधि र उपचारजन्य सामानहरु र अक्सिजनका सिलिण्डरहरु ल्याउने कार्यमा पनि नाफा खोजीरहेका छन । नाफाको धन गनिरहेका छन र मौका यहिहो मौका यहीहो भनीरहेका छन । तत्व ज्ञानको अभावमा थाहा छैन तिनीहरुलाई मरेको भोलिपल्ट दुइदिन हुन्छ र मरेको ७२ घण्टापछि सबैभन्दा आफ्नैलेपनि उसलाई बिर्सदिन्छ भन्ने कुरा । आफै बुझ्ने मान्छेहरु जुन समाजमा धेरै हुन्छन, त्यो समाज उन्नत हुन्छ र त्यहाका मानिसहरु शान्ति र आनन्दको मार्गमा रहेका हुन्छन । कमसेकम अरुले सिकाएर वा बुझाएर बुझ्ने मानिसहरु भएको ठाउपनि शान्ति र आनन्दको ठाउमा रुपान्तरित हुन जान्छ तर जसले जे भनेपनि नबुझ्ने वा नहुने मान्छेहरु धेरै भएको ठाउ वा देशमा शान्ति र आनन्द धेरे दुर्लभ हुन्छ ।
- सुखको सिमावोध
‘’धर्तिमाताले सँसारका सबै आवश्यकताहरु पुरा गर्ने सामर्थ राख्दछिन तर एउटै लोभिको लोभसँग हार खान्छिन’’। महात्मा गान्धीको यो वाक्य असाध्यै मननीय छ । यसैगरी ‘’सुख त्यो कहा छ आफू मिटाइ अरुलाई दिनु जहा छ (लक्ष्मीप्रसाद देवकोटा) सुखको सिमावोधको अचुक अस्त्र लाग्दछ ।
सुख के मा छ ? धन दौलतमा ? अहँ हुदोरहेनछ । अरब पतिहरुपनि सँसारिक जीवन त्यागेर सन्यास बनेका छन । सुख के मा छ सन्तानमा ? त्योपनि होइन रहेछ । सन्तानले सुख हुन्छ र खुसी हुन्छ भन्ने सम्झदै जन्माउने र हुर्काउने कति आमा बाबुहरु तिनै सन्तान कुसन्तान बनेर घरबाट निकाला गरेका वा बाँच्नका लागि गल्लीहरुमा हात थापेका दृश्यहरु हाम्रा आँखावरिपरि नै छन । शक्तिले सुख दिन्छ ? त्योपनि होइन रहेछ । शक्तिका लागि अहोरात्र ताकाताक र हानाहान गर्ने तर अन्ततः शक्तिको आडम्बरले जनजनको मनमा पारेको चोटले गर्दा मलामीपनि नपाएर मर्नेहरु पनि यही लोकमा पाइन्छन । धन दौलत, सन्तान र शक्ति यी तीन चिजमा सुख छ भन्नेहरुपनि यसको सिमावोधको अभावले कहिले सुखी हुन सकिरहेका थिएनन र आजपनि छैनन ।
ठीक्क धनदौलत, ठीक्क र ज्ञानी सन्तान अनि ठिक्क शक्ति वा अधिकार शान्त र आनन्दमय जीवनको आधार हो । सुखी जीवनको धरातल हो भन्ने तत्तवोध धेरैलाई गराउने समय ल्याएको छ कोभिडले । जसजसलाई जसले जेसुकै भनेपनि ज्ञान वा तत्ववोध हुदैन तिनीहरुकालागि कोभिड सङ्कट आवोस कि झन ठूलो कुनै अर्को महासङ्कट आवस त्यसले केही फरक पार्दैन । तर कोभिड समयको आजको चेतले अधिकाँश मान्छेहरुमा सुखको सिमावोध गराएको छ ।
धनसम्पत्ति, सन्तान र शक्तिप्रतिको भोक वा लोभको सिमावोध नै सुखको सिमावोध हो । अधिकाँश मान्छेमा कोभिडले यसमा सिमावोध गराएको छ । नपत्याए तपाइआफै एकछिन बिचार गर्नुसतः असाध्यै लोभि मान्छेपनि लोभ कम गर्न लागेको पाउनु हुन्छ । कहिले सम्पर्क नगर्ने मान्छेबाट पनि सम्पर्क र सम्बन्धको महत्व बुझेको ब्यबहार पाउनु हुन्छ । सधै शक्तिको आडमा फर्केर नहेर्नेलेपनि हिजो आज भेटदा हालखबर सोधेको पाउनु हुन्छ । सधै सन्तानको उपतिको गफ हाकेर कान खानेगरी कराउने छिमेकीपनि आजकल अरु मान्छेको जीवनको कुरा गरीरहेको पाउनु हुन्छ । रातदिन घर घडेरी शेयर सहितका सम्पत्तिका विविध आयामहरुको बारेमा कुरा गरेर नथाक्नेपनि हिजोआज तात्तातो झोल, सन्तुलित भोजन र स्वस्थ जीवनशीको कुरा गरिरहेको पाउनु हुन्छ । हप्तामा एकजोर कपडा किन्नेहरुपनि हिजोआज किन चाहियो अनाबश्यक कपडाहरु भन्ने मनस्थितिमा पुगेका छन् । अर्थात सुखको सिमावोध हुदै गएको छ मान्छेहरुमा ।
जीवन भन्दा ठूलो धनसम्पत्ति, सन्तान र शक्ति होइन । आफन्त र छरछिमेक भन्दा नजिकको र इष्टमित्र भन्दा ठूलो कोहि हुदैन । सबैभन्दा पहिला आफ्नो जीवन, आफ्नो परिवारको जीवन, आफन्तको जीवन, छरछिमेकिको जीवन, नेपालीको जीवन र समस्त मावन जीवन क्रमशः हो भन्ने तत्ववोध र सुखको सिमाबोध भित्रभित्र यही कोभिडले नै गराउदै ल्याएको छ ।
अर्थात सुख दुख अरु कोही होइन आफै हो । मनको दुख मेट्ने औखितपनि मन भित्रै छ । धनदौलत, सन्तान र शक्तिमा अतिआशक्ति नबनी, शान्तमनको अभ्यासकर्ता, सन्तोषीभावका साथ हुने ब्यवहार र अरुका लागि समर्पित रहने मानिस नै सबैभन्दा सुखी मानिस हो । यो नै समय चेतनाको उपज बनेको छ यतिवेला ।