‘’……समयले मानिसलाई कँहा कँहा पुरयाउँछ ?
कहिले हसाँउछ, कहिले रुवाउछ,
आशुँ र हाँसोको मिलन पनि गराउँछ……….’’
‘’सबैभन्दा बलवान भनेकै समय हो । धनसम्पत्ति, मान, सम्मान, शाख-शौख, शक्ति वा शक्तिभक्ति केही होइनन, समय हो, समय । दुइदिनको जुनीमा फूर्ति लाउनु बेकार छ…….’’।
माथिको गीत र बुढापाकाहरुले समयक्रममा भनेको माथिकै भनाइ यतिवेला घरिघरि सम्झनामा आइरहन्छ । नसम्झु, भनेपनि आइहाल्दछ । अस्पत्तालमा बिरामीको ज्यान बचाउन अहोरात्र खटिने चिकित्सकहरु आफै बिरामी परेका छन । शँकटमा मानिसको उद्दार गर्ने उद्दारकर्मीहरु आफै मरेका छन् । के को कारणले ? मूलतः यही समय रोगको कारणले अर्थात कोरोनाका महामारीको कारणले । यो समय रोग हो बुढापाकाहरु भन्ने गर्दथे आँठे लाग्योभने र त्यसलाई समयमै चिन्न वा ठेगान लाउन सकिएनभने सोत्तर पार्न बेरलाउदैनन आँठेले । आँठे अर्थात समय रोग भनेर हेलचेक्रयाइ गर्नु हुदैन । बरु कुखत ( टाइफाइड) निको होला, समयरोग निको नहुने गरी काल बनेर आउँछ र असँख्य मान्छेहरुलाई लिएर जान्छ…… ।
कुनै समय पियाँले (जण्डिस) रोग बन्यो समय रोग । कुनै समय ल्पेग बन्यो समय रोग । कुनै समय टीबी बन्यो समय रोग । यसैगरी समयक्रममा पखाला ( हैजा) पनि बन्यो समय रोग । अर्थात समयको क्रममा एकपछि अर्को गर्दै समय रोग बनेर आए धेरै रोगहरु । धेरै मानिसहरुको जीवनलाई नै खाए । यतिबेला कोरोना रुपी स्याँकस्याँक र सुँकसुके रोग, हनहनी ज्वरो र कटकटी जिउखाने कडा कारण बन्दै सासफेर्न धुकुर धुकुरको अवस्थामा पार्ने र फोक्सोमा पानी भरिएर वा फोक्सोलाई कालो बनाउदै फोक्सोलाई कामै गर्न छोड्ने बनाएर मान्छेहरुलाई लैजाने महाकाल बनेर पृथ्वीतलमा घुमिरहेको छ ।
यसको अर्थात कोरोना कहरको कारण केहो ? धर्मान्धहरु भन्न सक्छन -इश्वरको लिला वा खटन । प्रकृतिवादी अर्थात भौतिकवादीहरु भन्न सक्दछन-प्रकृति माथिको बलात्कारपूर्ण अविवेकपूर्ण मानव दोहनको सजाय । समाजशास्त्री एवम स्वाथ्य विज्ञहरु भन्न सक्दछन- मानिसका आहार बिहार र ब्यवहारहरु नमिलेर यस्तो हुदै गएको र समय रोग बढ्दै गएको हो । अर्थात समयरोगको बारेमा मानिसका बुझाइहरु विभिन्न हुनसक्दछन ।
एकजना मित्र भन्दै थिए दिनभरी बाहिर लाउने स्यानिटाइजर र साँझपरेछि भित्रि स्यानीटाइजर लगायो, कोरोना भगायो बस… । बुझाइ आ-आफ्नो हो तर बैज्ञानिक बुझाइ के हो र ? त्यसलाई पालना गर्ने कसरी हो भन्ने मूल पक्ष हो । जीवनपयोगी चेत हो ।
आहार, बिहारको सम्बन्धमा मेरो एउटा अनुभव छ । सुन्दा सामान्य लाग्ने तर गुन्दा जीवनको गहिराइकै बिषय । बि स २०५२ सालतिर सुर्खेतको ततकालिन पुनराबेदन अदालतमा काम गर्दा इत्राममा डेरा थियो । त्यही घरको तल्लो तलामा एक जापनीज युवती स्वयमसेविकाका रुपमा काम गर्न नेपालको सुर्खेत आएकीले बस्दथिइन । हामी तलमाथि एउटै घरमा बस्द्थ्यौ । उनका राताराता, रगत चुहिएला जस्ता गाला र उनको फूर्तिलो जीवनचर्या देखेर लोभलाग्यो मलाइ . एकदिन सोधे कसरी हुन्छ हँ यस्तो ज्यान र फुर्तिलो गरी काम …..? उनले हाँस्दै भनिन ‘’ज्यान लाग्ने खानुपर्छ र ज्यानलाई कामलाग्ने काम गर्नुपर्छ…….’’। एकछिनको त्यही सन्दर्भको कुराकानीको निष्कर्ष सहित उनको प्रतिप्रश्न थियो –प्रकृतिमा करिब तीनभाग पानी र एकभाग ढुँगामाटो छ । प्रकृतिले बनाएको वा यही प्रकृतिमा बनेको मानिसको ज्यानन हो । अनि आहार बिहार र ब्यवहार प्रकृतिसम्मत भएन भने कसरी हुन्छन् त तिम्रा गाला राता वा तिम्रो ब्यबहारको ज्यान बन्ने काम ?
ठयाक्कै उही सवाल बि स २०६२ तिर फिलिपिन्स जाँदा एक लक्का जवानलाई सोधेँ । अनि २०७३ सालमा अध्ययन प्रशिक्षणका लागि चिनजादाँ एक चिनियासँग सोधेर त्यसलाई पूर्णता दिने प्रयास गरेँ ।
उनीहरु दुबैको जवाफ उनै जापनिज युवतीको जवाफको सेरोफेरोमै पाँए । जबजब खानपान र ब्यबहार नमिलेको कारणले कुनै दिन आफैलाई केही भारीपन भएको हुन्छ वा वरपर त्यस्तै केही भएको देख्छु वा सुन्छु । अनि सम्झनामा आइहाल्छ त्यही जवाफ । अनि प्रकृतिसम्मत आहार बिहार र ब्यवहार बिना मान्छेहरुले धेरै दुःख पाएको यथार्थता मेरो वरिपरि घुमिरहन्छन् । घामपानी, हिउ, असिना, बतास आदिले जाडो वा गर्मी ल्याउने, त्यहीअनुसार लत्ताकपडा खानपान नहुनेहरु बिरामीमा पर्ने । यो तथ्यलाई हेर्न वा बुझ्न कतै जानु पर्दैन । आफ्नै वरिपरि हेरे पुग्दछ । आफू रहेको प्रकृति जस्तो छ र उसले जे जस्तो खानपान बिहार र ब्यबहार निर्देशित गर्दछ, त्यही त्यही गरयोभने राम्ररी चल्यो मान्छेको जिन्दगी । हैनभने जिन्दगी लतारिन्छ वा बटारिन्छ र अन्ततः अकाल अर्थात बेसमयमा त्यही प्रकृतिमाथि पछारिन्छ । सकिन्छ ।
जुनसुकै खालको जीवनको इहलिला समाप्तिलाईपनि प्रकृतिले साथ नदिएको भन्ने कि इश्वरको खटन मान्ने अथवा केहीहदसम्म आफ्नो ढँग वा बुद्दी नपुगेको वा प्रकृति सम्मत ब्यबहार नमिलेको भन्ने ? यही मूल कुरो हो । समस्याको केन्द्रीय सवाल हो । प्रकृतिसम्मत आहार बिहार र ब्यवहारको चुरो कुरो बुझ्योभने समाधान यसैभित्र नै छ ।
कोरोना महामारीको वर्तमान कालमा प्रकृतिसम्मत जीवनशैलीको पाठ हरेक मनुवाले बुझ्नु जरुरी छ र बुझाउनु जरुरी छ । आहार, बिहार र ब्यबहार सधै प्रकृति सम्मत हुनसक्नु पहिलो र सदावहार मान्यता हो । महामारी अर्थात कोरोना महामारीमा आहार बिहार र ब्यबहारलाई प्रकृति सम्मतका साथ कोरोना परास्त जीवनशैलीका रुपमा लैजानु अर्को अनिवार्यता यतिवेला देखिएको छ । कोरोनाकालमा प्रकृतिसम्मत जीवनशैलीहरु के के हुनसक्दछन् भनेर अलिभित्र पसियोभने महाभारत नै बन्न सक्दछ तर सँक्षिप्तमा सम्झदाः प्रकृतिमा रहेको तीनभाग तरल र एकभाग ठोस रुपी आहार, प्रकृतिले मागेको कपडा, सुरक्षित बसाइ, आदि आदि यसका धेरै आयामहरु छन् ।
कोरोना महामारीको कारणले समय यस्तो आयो कि सुन्दर र परिपूर्ण तथा भरिपूर्ण घर हुनेहरुपनि एकै स्थानमा बसेर खानपान गर्न केही समय रोकेर एक एक गरेर पालैपालो पकाउने र आफ्नो अनुकूलतामा एक्लाएक्लै खानुपर्ने अवस्था ल्यायो । किनकि घरको सदस्य भनेर मात्र कँहा सुरक्षित हुन्छ र उ ? कुन कँहा जान्छ कुन कहा ? काँहाबाट ल्याउने हो कोरोना । त्यसैले एकले अर्कोलाई बचाउन एक्लाएक्लै खान पान रहन सहन अनि त्यसपछिको मुस्कान मात्र समयले निर्देश गरेको ब्यवहार बन्न पुगेको छ । यसैगरी विवाह वर्तवन्ध आदि साँस्कृतिक कामहरुपनि अब आस्था अनुसार मन्दीर विवाह, अदालती दर्ता बिबाह र नभए फेसबुकबाट सार्वजनिक रुपमा सँयुक्त प्रतिबद्दतायुक्त विवाह हुन सक्ने दिशातिर समयचक्रले लगिरहेको छ । अड्डा-अदालतहरु मात्र जनशक्तिले होइन, मन र प्रविधिशक्तिले चल्ने सेवा स्थानका रुपमा रुपान्तरित हुदै गएका छन् । लैजानुपर्ने समयक्रम देखिएको छ ।
‘’सरकारी तवरबाट वा सार्वजनिक हितका लागि सौजन्यताजस जारी सेकेन सेकेनका सूचनाहरु भनिरहेका छन् ‘’सकभर घरबाट ननिस्कनु । निस्कनुपरे माक्स अनिवार्य लगाउनु, भौतिक दूरी कायम गर्नु र बेलाबेलामा साबुन पानीले हात धुनु …………… ‘’
तर धेरै मानिसहरुमा ऐले पनि ‘’लाएको बानी कहिँनजानी वाख्खै ‘’ भन्ने जीवन शैली जारी छ । तरकारी आदि घरको लागि अत्यवश्यक सामान किन्न घरको एकजना गए पुग्छ । राख्ने स्थान हुनेहरुका लागि सकभर एकहप्ताको एकपटक ल्याउर राख्दापनि हुन्छ । तर मालबाँधेर एकभन्दा बढी जाने देखि स्वास्थ्य रक्षाका समकालिन उपायहरु अबलम्बन नगर्नेहरुको ताँती अझैपनि जारी छ । कुनै काम गर्न वा गराउन घरको कुनै एक सदस्य गए पुग्ने वा आलोपालोका रुपमा गए पुग्नेमा धेरै सदस्यहरुको उपस्थिति हुने क्रमपनि टुटेको छैन । कार्यालयहरुमा कामका लागि सेवाग्राहीहरु आउनकि नआउन तर कर्मचारीहरु सबैलाई (निषेधाज्ञा जारी भएका जिल्ला वा स्थान बाहेकमा) अनिवार्य गराइएको छ । समयले कम्तिमा आदि जनशक्ति घर वा आबासमै राखेर आधि आधिको माध्यमबाट आलो पालो पद्दतिबाट सार्वजनिक सेवा दिनपर्ने परिस्थिति ल्याइसकेको छ तर ब्यवस्थापन त्यसरी हुन सकिरहेको छैन ।
डाइबिटिज, मुटुरोग जस्ता स्वास्थ सम्बन्धी जोखिमपूर्ण रोगहरुबाट पिडित सबै तहका राष्ट्र सेवकहरुलाई र ६० वर्ष भन्दा बढी उमेरका जेष्ठनागरिकहरुलाई कोरोना कहरको यो सँक्रमणकालिन समयमा घर वा आबासमा बसेर स्वास्थरक्षा गर्ने अवसर दिनुपर्ने अवस्था आएको पनि केहि दिन नै भइसक्यो तर सरकार वा सम्बन्धित ब्यवस्थापकहरुको ध्यान यसतर्फ गइरहेको छैन । सँक्रमितहरुको सँख्या एक हजार, पन्ध्रसय, दुइ हजार, पच्चिसय, पैँतिससय, अनि पैचाँलिस सय हुदै आज पचपन्न सय नाघिसकेको छ अर्थात एक दुइ तीनको धारबाट एक दुइ चार आठको अँकतिर जाने खतरादेखिइसकेको छ । कोरोनाकै कारणले मृत्युहुनेहरुको सँख्या दिनमा एकदर्जनले थपिदैछ । तर पनि उही माक्स, भौतिक दूरी र साबुनपानी भजनमा सिमित छौ हामी । न ब्यक्तिगत रुपमा जीवनशैलीमा परिवर्तन ल्याउन सकेका छौ न सरकार वा ब्यवस्थापकहरुमा बैज्ञानिक उपायसहितको चेत नै खुल्न सकेको छ ।
चिकित्सकीय मान्यतामा यसपटकको कोरोना कहर दोस्रो लहरको पहिलो भन्दा दोब्बर कहरको कहर हो, जो पहिलो पटकको भन्दा दोब्बर खतरनाक छ । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद वा गन्ध नहुने,घरिघरि पखाला लाग्ने वा बान्ता हुने, थकान बढ्दै जाने, निद्रा लागिरहने, छालामा बिबिराहरु देखिने, आँखा राता हुने आदि प्रमुख लक्षणहरुमा कुनै एक मात्र देखिएपनि कोरोना होकि भनेर होसियार हुनुपर्नेसम्मको सन्त्रासमा छ भनिन्छ । थोरै समयमा छिटो कोभिड निमोनिया देखापर्ने त्रासपनि बढ्दो छ । त्यसैले अलिअलि लक्षणहरु मिलेभनेपनि छातिको एक्सरे गराउन, रगत जचाउन र सिटिस्क्यान गराउनु पर्ने हुन्छ र त्यो स्थितिभन्दा बढी कहरलाग्दो अवस्थामा पुग्योभने अर्थात लामो समयसम्म ज्वरो आयो, लगतार वा छिटो छिटो खोकी सास फेर्न कठीन भयव वा अक्सीजनको लेभल ९४ भन्दा कम हुन गयोभने अस्पत्ताल भर्ना हुन र चिकित्सकको प्रत्यक्ष सल्लाह र निगरानी रहन ढिलो गर्नु अनिष्ठ निम्ताउनु सम्मको अवस्था हुन्छ रे !
मलाई त गतसाल भैसकेको भनेर हेलचेक्याँइ गर्नु वा म त खोपको दुबै डोज लगाएको मान्छे भनेर फूर्ति गर्नुमा बेकार छ । ति दुबैथरीलाईपनि यसले छोडदैन । किनकी यो गतसालको भन्दा रुप फेरेको र गतसालको कोरोनाले भन्दा बढी कहरका रुपमा मान्छेलाई हेरेको खतरनाक भाइरस हो…… आदि आदि पढ्दै र बुझ्दै जाँदा यस्तो लाग्दछ कोरोना कहरको सन्त्रास बढिरहेको छ । र अझै बढ्ने निश्चित छ ।
त्यसैले भरसक घरभित्रको बसाइ, घरभित्र पनि एकान्तप्रिय बसाइ, प्रकृतिसम्मत खानपान अर्थात आहार बिहार र ब्यवहार आजको अनिवार्य आवश्यकता भएको छ । परम्परागत र सहज अवस्थाको जीवनशैलीका तमाम रुप रँग र ढँगहरुमा परिवर्तन ल्याइ कोरोना ब्यवस्थापनको लागि सहयोगी बन्ने जीवनशैली अपनाउन सकिएन भने कोरोनाको आहार बन्नेहरुको सँख्या अवश्य बढ्ने छ ।
समयको यो त्रासदिमा धनपालेर होइन, मन सँगालेर बाँच्न सक्नुपर्छ । मनहरुलाई कुँडाएर वा सम्बन्धको डोरी चुडाएर होइन, ह्दय नै सर्सिने गरी वा सहयोग प्रेम र सदभावका भावनाहरु हर ब्यक्तिका ब्यवहारहरुमा बर्षिने अवसर दिनु पर्छ । सम्झनु जरुरी छ कि अबको करिब दुइवर्ष यो वा त्यो रुपको कोरोनाले सिँगो मानव जातिलाई गिज्याइरहने समय हुनेछ । त्यसबिचमा सबैभन्दा बढी मारमा पर्ने भनेको साधन स्रोत मात्र होइन, चिन्तन र चेत कम भएका अविकसित मुलुक नागरिक (ब्यक्ति)हरु नै हुन । त्यसमा नेपाल र नेपालीको स्थान अग्र दशौपङ्तिभित्र रहने निश्चित प्रायः छ ।
सरकारी तबरबाट आजै औपचारिक रुपमा विज्ञप्ति निकालेर भनियो कि ‘’स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी प्रकोप बढ्यो’’ भनेर । भोलि वा केहीदिनपछि ‘’आ आफ्नो सुरक्षा प्रवन्ध आफै गर्नु होला’’ भन्ने औपचारिक विज्ञप्ति आयोभनेपनि अनौठो मान्नु हुने छैन । यो अर्को अज्ञानता वा पूर्वहोसियारीको अभावको कारण मात्र बन्ने छ ।
सबैहोस । त्यस्तो नहोस । यो पूर्वअनुमान गलत हो । सबैमा कोरोना कहर ब्यवस्थापनका लागि परिवर्तित जीवनशैलीको आरम्भ आजैबाट हुन सकोस । बस यही सतचाहना र कामना ।