पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ ।
गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई धरपकड नगर्न प्रहरीलाई आदेश दिएको हो ।
भिटेनले सार्वजनिक गरेको पारा नामक गीतमा अश्लील शब्द र गालीगलौज गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार गरेको थियो । यो विषय सार्वजनिकलगत्तै उनले युट्युबबाट आफ्नो गीत हटाएका छन ।
भिटेनले एक प्रेस विज्ञप्ति जारी गरेर गीतलाई संशोधनपछि पुनः राखिने पनि जनाएका थिए । उनले अदालतमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर निषेधाज्ञा निवेदन दिएका थिए ।
अभद्र व्यवहार सम्बन्धी कसूर लागेका उनलाई साधारण तारखेमा छाडिएको थियो। यस अघि पनि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा प्रहरीलाई गालीलगौज गरेको आरोपमा उनलाई महाशाखाले गत वर्ष पक्राउ गरेको थियो ।