सरकारले चीन र अमेरिकाबाट हालै ल्याइएका कोभिड खोपको वितरण सम्बन्धमा लक्षित समूहहरू निर्धारण गरेको छ।

स्वास्थ्य सेवा विभागले चीनबाट ल्याइएको भेरोसेल खोप ५५ वर्ष उमेर माथिकालाई र अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्ष उमेर समूहमा दिने जनाएको छ।

यी उमेर समूहमा पहिलो मात्रा खोप लगाउन बाँकीले ती खोपहरू पाउनेछन्।

सोमवारको मन्त्रिपरिषद्को निर्णय अनुसार मङ्गलवारदेखि नै खोप कार्यक्रमहरू सञ्चालन गरिने सरकारले जनाएको छ।

अन्य काे काे परे प्राथमिकमा

तोकिएको उमेर समूहबाहेक भेरोसेल खोपका लागि विश्वविद्यालय एवं विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू समेत योग्य हुने जनाइएको छ।

त्यसबाहेक उक्त खोप सार्वजनिक यातायातका चालक, सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नेपालीहरूले समेत पाउनेछन्।

अहिलेसम्म खोप नलगाएका तर सरकारले तोकेका अत्यावश्यक सेवामा काम गर्नेहरूलाई समेत चिनियाँ खोप दिइने जनाइएको छ।

जोनसन एण्ड जोनसन खोप चाहीँ पूर्ण वा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूले समेत पाउनेछन्।

नेपालमा रहेका शरणार्थी एवं यसअघिका खोप अभियानमा छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत उक्त अमेरिकी खोप दिइने जनाइएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 178 Viewed

प्रतिक्रिया दिनुहोस्