पछिल्लाे २४ घण्टामा देशभर १,८७५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन भने २९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ।
पछिल्लो २४ घण्टामा १०,५०४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ५,१३० परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
कुल परीक्षणको १७.८ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ।
सो अवधिमा १,२८६ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ९३ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,३२० पुगेको छ।
अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ४९९५ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन्।
अहिले कुल २६,४४७ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,७५५ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
बिहीवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४२७ जना काठमाण्डू उपत्यकामा रहेका छन्।
अहिले देशभरिका ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २५ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५७२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १५७ जना भेन्टिलेटरमा छन्।