गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा नियुक्त अधिवक्ता रोहितराज बास्तोलाले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
उनले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलसमक्ष सपथ ग्रहण गरेका हुन् । सपथ समारोहमा प्रदेशका मन्त्री, उच्च सरकारी अधिकारी लगायतको उपस्थिति थियो ।
नेपालको संविधान २०७२ को धारा १६० अनुसार मुख्यमन्त्रीको सिफारिसमा सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
पोखरा ११, फूलबारी निवासी बास्तोला २५ वर्षदेखि पोखरामा कानुन व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष उनी डेमोक्रटिक लयर्स एसोसिएसन कास्की पूर्व अध्यक्ष हुन् ।
मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हो । मुख्यमन्त्रीले चाहेको अवधिसम्म मुख्य न्यायाधिवक्ता आफ्नो पदमा बहाल रहने संवैधानिक प्रावधान छ । संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुनेछ ।