पछिल्लो २४ घण्टामा नेपालमा थप २,४७६ जनामा कोरोनाभाइरस सङ्क्रमण र २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार बताएको छ।

पछिल्लो २४ घण्टामा १४,३५१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,७६५ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको १७.२५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

सो अवधिमा ५,४५५ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९१.३३ प्रतिशत पुगेका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६१ हजार पुगेको छ भने मृतकको सङ्ख्या ८,९४५ पुगेको छ।

अहिले कुल ४२,९१० जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८८४ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

कुल सक्रिय सङ्क्रमितमध्ये ८,६१६ जना काठमाण्डू उपत्यकामा रहेका छन्।

अहिले देशभरिका ३१ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ७१४ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २०१ जना भेन्टिलेटरमा छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 196 Viewed

प्रतिक्रिया दिनुहोस्