अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि करिब साढे १६ खर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरले अर्थतन्त्रमा सङ्कट परिरहेको समयमा प्रस्तुत बजेटमा १ खर्ब २२ अर्ब रुपैयाँ स्वास्थ्यमन्त्रालयका क्षेत्रका निम्ति छुट्ट्याइएको छ।

जसमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बजेटले साढे ३७ अर्ब रुपैयाँ छुट्ट्याएको छ।

सबै योग्य नागरिकलाई निशुल्क खाेप दिनका लागि बजेटले २६ अर्ब ७५ करोड रुपैयाँ छुट्ट्याएको छ।

त्यस्तै धेरै विनियोजन गरिएका अन्य क्षेत्रहरूमा शिक्षा शीर्षकमा १ खर्ब ८० अर्ब रुपैयाँ छुट्ट्याइएको छ भने कृषिका निम्ति ४५ अर्ब रुपैयाँ छुट्ट्याइएको छ।

सडक तथा यातायात पूर्वाधारका निम्ति १ खर्ब ६३ अर्ब रुपैयाँ छुट्याइएको छ।

ऊर्जा तथा जलस्रोत विकासका लागि १ खर्ब २१ अर्ब रुपैयाँ राखिएको छ।

विभिन्न ऋण तथा ब्याज तिर्नका निम्ति वित्तीय व्यवस्थाअन्तर्गत २ खर्ब ७ अर्ब छुट्ट्याइएको छ। त्यस्तै प्रदेश तथा स्थानीय तहको निम्ति वित्तीय हस्तान्तरण अन्तर्गत ३ खर्ब ८६ अर्ब रुपैयाँ अथवा (२३.५%) छुट्ट्याइएको छ।

सामाजिक सुरक्षाका भत्ता ३३ प्रतिशतले बढाइ १ खर्ब रुपैयाँ छुट्ट्याइएको छ। जसमा वृद्धभत्ता ३ हजारबाट ४ हजार रुपैयाँ पुर्‍याएकाे छ ।

बजेटले सबै निजामती कर्मचारीहरूको तलबमा मासिक २ हजार रुपैयाँ बढाइको छ।

लघु, साना तथा मझौला व्यवसायीहरूलाई सहुलियतपूर्ण ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन १३ अर्ब रुपैयाँ छुट्ट्याइएको छ।

उनले थप २ लाख मानिसहरूलाई रोजगारी सिर्जना गर्न १२ अर्ब रुपैयाँ लगानी गरिने बजेटमा उल्लेख गरेका छन।

सरकारी कर्मचारीलाई १० दिनको तलब दिएर काजमा पठाइने बजेटले प्रस्ताव गरेको छ।

बजेटमा उल्लिखित रकम जुटाउनका लागि अर्थमन्त्रिले १० खर्ब २४ अर्ब रुपैयाँको राजस्व उठ्ने अनुमान गरेका छन्।

त्यसपछि नपुग हुने पैसाका लागि विदेशी ऋणमार्फत झन्डै ३ खर्ब ९ अर्ब, विदेशी अनुदानबाट ६३ अर्ब र आन्तरिक ऋणबाट झण्डै २ खर्ब ५० अर्ब उठाउने अनुमान गरेका छन्।

यसका साथै कम्पनी ऐन २०६३ तथा प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ असोज मसान्तभित्र विलम्ब शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा गरिने बजेटमा उल्लेख गरिएकाे छ ।

झट्ट हेर्दा बजेट राम्राे भए पनि उत्पादनमूखि भन्दा वितरणमूखि भएकाे भनी अाज प्रस्तुत बजेटकाे अालाेचना गरिएकाे छ । जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट ल्याएको नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आरोप लगाएका छन् । भने पूर्वअर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले  गैरजिम्मेवार ढंगले बजेट ल्याएको प्रतिक्रिया दिएका छन् । उनले सरकारले संवैधानिक दायरा र राजनीतिक मर्यादा नाघेर बजेट ल्याएको बताएका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको 363 Viewed

प्रतिक्रिया दिनुहोस्