पछिल्लो २४ घन्टामा थप ८,९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या पाँच लाख नाघेको छ।
उक्त अवधिमा कोरोनाभाइरस सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ८,८४८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
वितेकाे २४ घण्टामा कोभिडका कारण १२९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म कोरोनाभाइरसका कारण नेपालमा ६,१५३ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोनाभाइरस महामारी सुरु भएयता सङ्क्रमित हुनेहरूको कुल सङ्ख्या ५,०५,६४३ पुगेको छ।
दक्षिण एशियामा भारत, पाकिस्तान र बाङ्लादेशपछि कुल सङ्क्रमितको सङ्ख्यामा नेपाल चौथो स्थानमा पुगेको छ।
भारतमा २ करोड ६२ लाख, पाकिस्तानमा ८ लाख ९७ हजार, बाङ्लादेशमा ७ लाख ८६ हजार, श्रीलङ्कामा १ लाख ५८ हजार र चीनमा १ लाख २ हजार भन्दा बढी कुल सङ्क्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको कोभिड ड्यासबोर्डले देखाएको छ।
विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २०,१०५वटा परीक्षण गरिएको थियो।
सो अवधिमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।


