बुधवार एकाएक गायब भएका जनमोर्चाका सांसद खिमबिक्रम शाहीकाे तेस्राे रिपाेर्टमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ । उनकाे मंगलवार स्वाब संकलन गरी क्षेत्रीय प्रयोगशालाबाट अाएकाे रिपाेर्टमा काेराेना भाइरस नेगेटिभ आएकाे थियाे भने साेही दिन पाेखराकाे न्युरोडको निजी ल्याब लाइफ केयर डाइग्नोस्टिकबाट पाेजेटिभ भएकाे रिपाेर्ट आएकाे थियाे । काेराेना पोजेटिभ देखियो भनेर उनी बुधवार प्रदेश सभाकाे अविश्वासको प्रस्तावको पक्षमा मत हाल्ने समयमा अनुपस्थित भएका थिए ।

सांसद खिमबिक्रम शाही अनुपस्थित भए पछि सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाकी सांसद पियारीको निवेदनका आधारमा अनिश्चित कालका लागि संसद स्थगित गरेका थिए भने शाहीलाइ चरक मेमाेरियल हस्पिटलकाे आइसियुमा भेटिएकाे थियाे ।

मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्तावमा मतदान हुने बेला सम्पर्कबिहीन भएका जनमोर्चाका सांसद खिमविक्रमलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चरक अस्पताल पुगेका छन् ।

सरकारीमा स्वाब दिएर फेरि अर्को निजीमा स्वाब दिनु र नेगेटिभ आइसकेपछि पोजेटिभ देखियो भनेर आइसियुमा राखिनुले घटना शंकास्पद रहेकाे भनी दिनभर चर्चा चलिरहेकाे थियाे । यसै सन्दर्भमा सांसद शाहीकाे बुधवार राती पुन: प्रदेश जनस्वास्थ्य प्रयाेगशालाबाट काेराेना भाइरस पाेजेटिभ भएकाे रिपाेर्ट आएकाे छ ।

यसरी एउटै प्रयाेगशालाबाट फरक फरक रिपाेर्ट सार्वजनिक हुंदा सरकारी ल्याब प्रति पनि भ्रम सृजना भएकाे छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी -जसपा) ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल सकेर बुधबार मतदान गर्ने भनिएको थियो । 

गण्डकी प्रदेशमा जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा उभिने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले ल्याएको अविश्वासको प्रस्तावकै पक्षमा जनमोर्चा उभिंदा मुख्यमन्त्री अल्पमतमा पर्न सक्छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 461 Viewed

प्रतिक्रिया दिनुहोस्