महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामै घुस लेनदेन हुने गरेको पाइएको छ।
परिसरको मुद्दा शाखामा कार्यरत् प्रहरी जवानले हिरासतमा रहेका थुनुवाबाट घुस लिएको पाइएको हो।
थुनुवासँग घुस मागेको पुष्टि भएपछि परिसरले ती जवानलाई विभागीय कारबाहीको लागि प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ। सुरूमा ती जवानलाई निलम्बनको लागि सिफारिस गरिएको छ।
परिसर स्रोतका अनुसार हालै पक्राउ परेका कमल सुनारसँग जवान मोहनकुमार श्रेष्ठले २५ हजार रुपैयाँ घुस मागेको थाहा भएको छ।
सुनारको मुद्दामा सहजीकरण गरिदिने भन्दै उनकी श्रीमती शर्मिला बस्नेतसँग २५ हजार रुपैयाँ घुस मागेका थिए।
शर्मिलाले पैसा पनि दिइसकेकी थिइन्। तर, मुद्दा नमिलेपछि परिसर नेतृत्वकहाँ यो गुनासो उनले गरिन्।
सुनार कुन मुद्दामा थुनामा थिए भन्ने परिसरले उल्लेख गर्न चाहेन।
परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले प्रहरीको ‘आन्तरिक कुरा’ भएको र आरोपित व्यक्तिमाथि अनुसन्धान भइरहेको बताए।
‘यो हाम्रो इन्टर्नल कुरा हो, छानविन र अनुसन्धान हुँदैछ,’ बस्नेतले भने।
जवान श्रेष्ठमाथि प्रारम्भिक अनुसन्धान गर्दा १ हजारका दरले २५ वटा नोट लिएको र उक्त रकम उनले खर्च गरिसकेको पाइएको परिसर स्रोतले बतायो।