कास्कीमा साढे ४ महिनादेखिको निषेधाज्ञा असोज १ देखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार अर्को आदेश जारी गर्दै वैशाख १५ देखिको निषेधाज्ञा हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु शिक्षा, विज्ञान तथा प्रविधिक मन्त्रालयद्वारा प्रकाशित कोभिड–१९ संक्रमणको अवस्थामा शैक्षिक संस्था संचालन गर्दा अपनाउनु पर्ने कार्यविधि अनुसार स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितिमा पठनपाठन कार्यक्रम संचालन गर्न सकिने छ ।
यस्तै, होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाइ बेलुका साढे ११ बजेसम्म सञ्चालन गर्न सकिने, नाँचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रिकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी राति साढे १ बजेसम्म सञ्चालन गर्न सकिनेछ।
