संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ। उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो।

आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी आरोपित लोकबहादुरलाई सार्वजनिक गरेको हो।  गत सोमबार तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। उनीहरूको शव चार वटा ठाउँमा फेला परेको थियो। आमा पार्वताको घरभित्र फेला परेको थियो भने अरूको बाहिर थियो।

प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसीका अनुसार उनीहरूको हत्या बिहान ६ देखि साढे ६ बजे बिचमा भएको थियो।  करिब ८ बजे लोकबहादुरले नै बडा बाको लास देखेको भन्दै अरूलाई खबर गरेका थिए। उनले खबर गरेपछि अरू पनि घटनास्थल पुगेका थिए ।

‘घटना विभिन्न कोणबाट अनुसन्धान र विश्लेषण गर्‍यौं। घटना कसरी भयो र कारणहरू के-के हुन सक्छन् भनेर अनुसन्धान अगाडि बढायौं। व्यक्तिगत रिसिइबी, आवेग, रिस, कुनै सुनियोजित तरिका, लुटपाटलगायत कुराहरूको विश्लेषण गर्दै गयौं,’ डिआइजी बिसीले आइतबार पत्रकार सम्मलेनमा भने। त्यसरी विभिन्न कोणबाट अनुसन्धान गर्न प्रहरीले लुटपाटका लागि वा बाहिरबाट आएर कसैले हत्या गरेको खुलेन। किनकी घरमा भएका नगद र सुनहरू सुरक्षित भेटिएको थियो। त्यसरी एकपछि अर्को सम्भावनालाई विश्लेषण गरी प्रहरीले अनुसन्धानको दायरालाई साँघुरो बनाउँदै लगेको थियो। मंगलबार बिहान तालिम प्राप्त कुकुरलाई स्निफिङ गराएको थियो। तर रातभर पनि पर्दा सो काम त्यत्ति प्रभावकारी भएन।  त्यसका बावजुद् पनि कुकुरले आरोपित लोकबहादुरको घरतर्फ संकेत गरेको डिआइजी बिसीले बताए।

भदौ २१ गते बिहान तेजबहादुर खेताला खोज्न गएका थिए । खेताला भनेर फर्कँदै गर्दा लोकबहादुरले उनलाई पछ्याएका थिए । कोही नभएको मौका पार्दै दाउराले पछाडि टाउकोमा हिर्काए । त्यसपछि तेजबहादुरले ‘लोकेले मार्‍यो’ भनेर कराएको सुनेपछि सासुबुहारी कुद्दै गएका थिए । उनीहरू त्यहाँ पुग्दा तेजबहादुर ढलिसकेका थिए । सासूबुहारीलाई देखलेपछि पहिले सासूलाई चिर्पट प्रहार गरेर ढालेपछि बुहारीलाई हिर्काएको प्रहरीको भनाइ छ ।

तेजबहादुरका नातिनातिनाले घटना देखेपछि चिच्याउँदै हजुरआमा र आमा भएको ठाउँ पुगेका थिए । त्यसपछि बच्चाहरूलाई लोकबहादुरले खेदेर टाउकोमा चिर्पट प्रहार गर्दै हत्या गरेको प्रहरीले जनाएको छ । त्यसपछि तेजबहादुरकी आमालाई कुँडो पकाएको ठाउँमा आएर कपालमा समातेर भित्तामा बजारेका थिए । आमाले पनि हल्ला सुनेको हुन सक्ने भन्दै उनलाई पनि लोकबहादुरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 178 Viewed

प्रतिक्रिया दिनुहोस्