देशभर कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम दैनिक सङ्क्रमण दर आइतवार देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्न सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबार परीक्षण गराएकामध्ये ८.२६ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा ११,०१८ जनाको परीक्षण गर्दा ९११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
सङ्क्रमितको सङ्ख्या शनिवारबाटै एक हजार तल झरेको थियो। शनिवार ९,८४० को परीक्षण गर्दा ९९४ जनामा सङ्क्रमण देखिएको थियो।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लगातार चार दिनयता १० प्रतिशतको हाराहारीमा सङ्क्रमण दर देखिएको छ।
मेको दोस्रो साता उच्च बिन्दुमा पुगेर कम हुन थालेको सङ्क्रमण जुलाईको दोस्रो सातादेखि फेरि माथि उक्लिएको थियो।