सहकारीका कर्मचारीले कोभिड १९ विरूद्धकाे भ्याक्सिन नपाउदा पोखरा महानगरपालिका वडा नं ३ स्थित नदिपुरको ज्ञान भुमि माबिमा दिनभर तनावग्रस्त स्थिति रह्यो ।
बिहान केहि सहकारीका कर्मचारीले खोप लगाए पछि सबै सहकारीका कर्मचारीले पाउनुपर्छ भनी उपस्थित पोखराका विभिन्न सहकारीका कर्मचारीले माग गर्दै नारा समेत लगाएका थिए ।
खोप केन्दमा धेरै सहकारीका कर्मचारी पुगेकाले भिडलाई नियन्त्रण गर्न नसकेपछि केही समय खोप कार्यक्रम स्थगित समेत गरिएको थियो ।
श्रावण १८ गते छुटेका स्वास्थ्यकर्मी, संचारकर्मी, सरकारी कर्मचारी, बैंकका कर्मचारीका लागि भनेर पोखरा महानगरपालिकाले सूचना गरेको थियो ।
उपस्थित सबैलाई महामारीको बेला कोभिडको खोप लगाउने चाहाना भए पनि कास्की जिल्ला प्रशासनले तोकेको समुहलाई मात्र खोप लगाउनु भन्ने निर्देशन गरेकाले पोखरा महानगर्पालिका वडा नं ३ का अध्यक्ष रविन सन प्रजुले दुख व्यक्त गरेका थिए । भिडलाई सम्बोधन गर्दै अध्यक्ष प्रजुले सहकारीका कर्मचारीका लागि सम्बन्धित निकायसँग समन्वय गरी आफ्नै वडामा छिट्टै खोपको व्यबस्था गर्नेमा आफू लागि पर्ने बताएका थिए ।
अन्य बैंक र बित्तीय संस्थाले जसरी सहकारीले पनि सेवा दिदै आएकाले सहकारीका कर्मचारीलाई विभेद गरेको भन्दै पोखरा रोयल सहकारी संस्थाका प्रमुख भिम गुरुङले दुखेसाे पाेखेका थिए ।
बिहान केही सहकारीका कर्मचारीले खोप लगाए पनि दिनभर बसेका सहकारीका कर्मचारी बेलुका निरास भएर फर्किएका थिए ।
भिडलाई नियन्त्रण गर्न खोपकेन्द्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका थिए ।
बिहानै देखि खोपकेन्द्रमा सहकारीका कर्मचारीको भिड भए पछि तोकिएका समुहका सेवाग्राहीहरुलाई घन्टौसम्म प्रहरीले गेट बाहिर राखेको थियो ।
खोप केन्द्रलाई व्यबस्थित तरिकाले संचालन गर्न नसकेकाले केन्द्रमा प्रवेश गर्दा दुख पाएको भन्दै उपस्थित सेवाग्राहीले आक्रोश पोखेका थिए ।
खोप केन्दमा बगरबाट खटिएका नेपाल प्रहरीका टोलीले सेवाग्राहीलार्इ दुर्व्यवहार समेत गरेको पत्रकार प्रेम नेपालीले बताए ।