पछिल्लाे २४ घण्टामा थप ३,१२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २३ जनाको कोभिड-१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोमवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,८११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ३,१९८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ६२ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,८९८ पुगेको छ।
अहिले कुल परीक्षणको झन्डै २२.६२ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९२५ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले ३१,६२९ जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।
तीमध्ये २८,४०५ जना घरमा तथा ३,२२४ जना संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितमध्ये अहिले ६९० जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७५ जना भेन्टिलेटरमा छन्।