क्षत्री समाज नेपालले समाजका पूर्व महासचिव, सल्लाहकार कुमार खड्का र सल्लाहकार विन्दुकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ ।
समाजले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रीमा कुमार खड्का, कानुन सञ्चार तथा प्रदेशसभा मन्त्रीमा विन्दुकुमार थापालाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको छ । सम्मान ग्रहण गर्दै मन्त्री खड्काले समाजको नेतृत्व लिदै राजनीतिमा लाग्दा आफूले सदैव समाजलाई उच्च स्थानमा राखेको बताए ।
जातीय सद्भाव कायम गराउन समाजले खेलेको भूमिका महत्वपूर्ण रहेको र प्रदेश सरकार सदैव सबै जाति समेटी समृद्ध प्रदेश बनाउन लागी परेको उनले बताए । कोरोना भ्याक्सिन प्रदेशमा ल्याउन आफूले अन्तर्राष्ट्रिय रुपमा पहल गर्दै आइरहेको समेत उनले बताए । कार्यक्रममा प्रदेशमन्त्री विन्दुकुमार थापाले जनताको मतको कदरस्वरुप आफू मन्त्री भएको भन्दै जनमतका कदर हुने गरी प्रदेशको कानुन निर्माणमा सदैव लाग्ने प्रतिबद्धता जनाए ।
प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको खस आर्य संग्र्रहालय बहुउद्देश्यीय भवनको आय–व्यय प्रस्तुत गर्दै समितिका संयोजक प्रेमबहादुर जिसीले यो काम सम्पन्न गर्न सबै तहबाट सहयोगको अपेक्षा गरेको बताए । क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष प्राडा चन्द्रबहादुर थापा, केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापा, सचिव हिमाल खड्का, गण्डकी प्रदेश अध्यक्ष बेनीबहादुर बस्नेत, कास्की जिल्ला अध्यक्ष पदमबहादुर कार्की लगायतले शुभकामना सहित धारणा राखेका थिए ।