नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान बलियो बनाउन आफू क्रियाशील भएको बताउँदै उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरेरै छाड्ने बताएका छन् ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाइ समिति पोखराद्वारा आयोजित अन्तर्राष्ट्रिय मित्रता दिवस अवसरमा भएको कार्यक्रममा डा. प्रसादले सो कुरा बताएका हुन् । उनले सरकारको नीति, मर्म र भावना अनुरुप संस्थानलाई अगाडि बढाउने जिम्मा पूरा गरेर नयाँ शाखा बिस्तारको अभियानमा रहेको उल्लेख गरे । उनले पोखरामा जाइकाको योजना सम्पन्न भएपछि पोखरेली उपभोक्ताको हितमा लाग्न कर्मचारीलाई निर्देशन दिए । कर्मचारीलाई सरुवासँग नडराउन आग्रह गर्दै संस्थानको कुनै एक शाखामामात्र जीवन बिताउने कार्य नराम्रो भएको बताए । संस्थानमा कार्यरत करारका कर्मचारीले दुख नपाउने भन्दै उच्च मनोबल लिएर काम गर्न अनुरोध गरे । कर्मचारीको दक्षता प्रदान गर्न संस्थानले तालिम तथा वृद्धि विकासको कार्यक्रम ल्याउने योजना सुनाए ।

खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिका महासचिव केदार धमलाले संस्थानमा कार्यरत २ सय ५० जना करार कर्मचारीको भविष्य सुनिश्चित भएमात्र संस्थानले गति लिने बताए । उनले कर्मचारीलाई दक्ष बनाउन संस्थानले लगानी नगरेको बताउँदै आगामी वर्ष तालिम वर्षको रुपमा अघि बढाउन अनुरोध गरे ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले श्रमिकका समस्या नभएको प्रतिष्ठानमात्र अब्बल र उपभोक्तामैत्री हुन सक्ने बताए ।
खानेपानी संस्थान कर्मचारी संगठनका सचिवालय सदस्य वसन्तराज भण्डारीले संघको कार्यक्रम उपयोगी रहेका भन्दै मित्रता दिवस तथा अन्तर्राष्ट्रिय मानव वेचविखनविरुद्धको दिवसको शुभकामना दिए ।

कार्यक्रममा खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशीष कार्की, हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादव, इ. सन्तोषकुमार दास, लेखा प्रमुख पुष्पराज जोशी, पोखराका प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मी, नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय परामर्श समिति संयोजक विष्णुप्रसाद रेग्मी, केन्द्रीय सदस्य हरि अधिकारी, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका कास्की उपाध्यक्ष रुककुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

इकाइ समिति पोखरा अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेखा केसीको स्वागत र सचिव दीपेन्द्र बानियाँले सञ्चालन गरेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 217 Viewed

प्रतिक्रिया दिनुहोस्