नेपालमा देशभर थप ३,३६५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १६ जनाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बिहीवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १४,२४२ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ४,६८७ जनाको परीक्षण एन्टिजन विधिबाट र बाँकीको पीसीआर विधिबाट गरिएको हो।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,३७३ जना सङ्क्रमणमुक्त भएका छन्।
मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या साढे सात लाख नाघेको छ भने मृतकको सङ्ख्या ९,८०७ पुगेको छ।
अहिले कुल परीक्षणको २३.६ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
तीमध्ये झन्डै ३,०३५ सयजना संस्थागत आइसोलेशनमा र अन्य २७,३५५ जना घरमै छन्।
संस्थागत आइशोलेशनमा सङ्क्रमितमध्ये अहिले ६३६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६० जना भेन्टिलेटरमा छन्।