देशभर थप ३,४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोमवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १७,२७२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ५,०३२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ३८ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,७३८ पुगेको छ।
अहिले कुल परीक्षणको झन्डै २० प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,६८६ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २७,९०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।
तीमध्ये २५,०९३ जना घरमा तथा २,८१५ जना संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितमध्ये अहिले ६६९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन्।