“समाजमा असल बच्चाहरु जन्मे भने मात्र समाजले असल नेता, असल शासक र असल कर्मचारी पाउँछ । एउटा असल बच्चा जन्मनुमा बच्चाले आमाको पेटमा कस्तो वातावरण पायो ? आमाको काखमा कस्तो वातावरण पायो ? परिवारमा हजुरबा, हजुरआमा, फुपु, काका काकी लगायतबाट सानोमा खेलाउदा कस्तो व्यवहार भयो ? र समाजबाट बच्चाले कस्तो वातावारण पायो ? यिनै कुराहरुको आधारमा बच्चाको व्यक्तित्व निर्माण हुन्छ र पछि त्यो व्यक्तिले समाजमा त्यस्तै आचारण देखाउँछ । त्यसैले असल समाज निर्माण गर्ने हो भने बच्चामा लगानी गर्नुपर्दो रहेछ । बच्चामा आमाको मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य, आध्यात्मिक अवस्था र सामाजिक अवस्थाको प्रत्यक्ष प्रभाव पर्ने हुनाले महिलाहरुलाई सक्षम बनाउन सके मात्र उन्नत समाज निर्माण हुन सक्छ । राज्यले लैङ्गिक समानताका लागि लगानी त गरेको छ तर त्यो महिलाका लागि भन्ने बुझाई रहेको छ तर त्यो होइन । महिलामा गरिने लगानी उन्नत नागरिक बनाउनमा गरिने लगानी हो । अहिले महिलामा भईरहेको लगानी अप्रयाप्त छ । महिलामा गरिने लगानी बालबालिका र समाजका लागि हो भन्ने बुझेर महिलाको समग्र पक्षको बिकासका लागि लगानी गर्न आवश्यक छ ।” ‘शून्यको मूल्य’ पुस्तक परिचर्चा कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका छन् ।
बालबालिका र महिलाका विशेष परिस्थितिलाई समेटेर लेखिएको खोजमूलक पुस्तक शून्यको मूल्यको अध्ययन गरी पोखराका विभिन्न क्षेत्रका व्यक्तिहरु परिचर्चामा जुटेका हुन ।
“चेतनामूलक समाज निर्माणका लागि, अध्ययन संस्कृतिको विकास गरौं” भन्ने उदेश्यका साथ परिवर्तनका लागि कार्य नेपाल संस्था अन्तर्गत संचालित “स्टडी सर्कल सोसाइटी” अभियानमा लेखक डा. नवराज केसीको ‘शून्यको मूल्य’ पुस्तकको परिचर्चा गरिएको हो ।
कार्यक्रममा अधिवक्ता महेन्द्रमान व्यथितले पुस्तकमा डा.केसीले कर्णली प्रदेशका अधिकांश बालबालिकालाई कुपोषणको समस्या भएको प्रसंग उठाउदै डाक्टरले उपचारका क्रममा बिरामीलाई परम्परागत ज्ञान, उपचार पद्घति र खानपिनलाई पनि अपनाउन लगाए कुपोषण जस्ता समस्या कम हुने बताए । “नेपालका मान्छेहरु पदमा पुगे पछि सामान्य मानिससंग बोल्न हुन्न जस्तो अहमता प्रर्दशन गर्ने गर्छन तर यो पुस्तकमा एउटा डाक्टरले बिरामी र उस्का आफन्तसंग गरेको व्यवहार पढ्दा प्रशंसनीय छ । जुन कुरा अरु डाक्टरले पनि सिकुन ।” पुस्तक माथि चर्चा गदै व्यथितले भने “यो किताब लेख्नु भन्दा पहिला डाक्टरले बेद पढेको भए किताब अझ राम्रो हुने थियो ।”
कार्यक्रममा पुस्तक माथिको अवधारणा पेश गर्दे रीता अधिकारी (रितु) ले आमाहरुको प्राकृतिक र सामाजिक भूमिकालाई लेखकले सरल भाषामा किताबमा उतारेको बताइन ।
परिवर्तनका लागि कार्य नेपाल संस्थाकी अध्यक्ष तथा स्टडी सर्कल सोसाइटी अभियानकी परिकल्पनाकार गीता कुमारी लामिछानेले डाक्टर नवराज केसीले कर्णलीमा बसेर बिरामीको उपचारका क्रममा पछाडि पारिएको समाज भित्रका आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायत विभिन्न पक्षको शुक्ष्म अध्ययन समेत गरेको र प्रतिवेदनको रुपमा शून्यको मूल्य पुस्तक प्रकाशित गरेको वताइन । “पुस्तकमा कर्णालीका आमाहरुको कथा लेखिए पनि नेपालभरका महिलाहरुको ऐना हो यो पुस्तक ।” उनले भनिन ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं ७ का सदस्य अर्जुन क्षत्रीले शून्यको मूल्य किताबमा उल्लेख भएका कुरालाई आफूले वडाका कार्यक्रममा समेट्न प्रयत्न गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्दीय सदस्य सरिता तिमिल्सिन पंगेनी, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्री, अधिवक्ता बि.बि. बिष्ट, भिरको बाटो पुस्तककी लेखक गोमा पराजुली, सामाजिक अभियान्ता दुर्गा न्यौपाने, पत्रकार गोमा घिमिरे रुचि लगाएतले पुस्तकका विभिन्न पक्षको विश्लेषण गर्दै नेपालका नीति निर्माताहरुले पढ्नुपर्ने बताएका थिए ।