शुक्रवार थप १०,७०३ जना मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६५,००० नाघेको छ।
शुक्रवार अपराह्न प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १८,६१८ वटा परीक्षण पीसीआर विधिबाट र ४,४७४ वटा एन्टिजन विधिबाट कुल २३,०९२ परीक्षण गरिएको थियो।
पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४७.३ प्रतिशतमा र एन्टिजन परीक्षणमा ४२.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।
हाल देशभरि सङ्क्रमितको सङ्ख्या ६५,३७४ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै दुईतिहाई काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।
सक्रिय सङ्क्रमितमध्ये ३०,६८८ जना काठमाण्डूमा, ७,१४५ जना ललितपुरमा र ४,२२३ जना भक्तपुरमा छन्।
विगत २४ घण्टामा काठमाण्डूमा ४,२७९ जना, ललितपुरमा ५६७ र भक्तपुरमा ४५६ जना नयाँ सङ्क्रमित थपिएका हुन्।
त्यस्तै मोरङमा ६४६ जना, सुनसरीमा ३३२ जना, झापामा २७६ जना, कास्कीमा २५४ जना र रुपन्देहीमा २७२ जना नयाँ सङ्क्रमित थपिएका छन्।