गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गरेका छन् । उनले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले खेलकुद सामग्री आफूले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी गराए । उनले भने, ‘म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफूले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु । मन्त्री भएपछि पनि यो क्रम निरन्तर चलिरहेको छ ।’ नागरिकका हरेक सुखदुखमा सँगै रहेको भन्दै उनले आफूले गफ मात्र नभई काममा विश्वास दिलाउने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री थापाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार आएपपछि पोखरा ३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोही अनुरुपको काम भइरहेको बताए । उनले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व हुनु सबैको जीत भएको दाबी गरे । सरकारी निवास समेत प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास निर्माणका कार्यमा आफू समर्पित हुने प्रतिबद्धता जनाएका छन् ।
पोखरा २१ र ३३ नम्बर वडा महानगरको दुर्गम वडा भएको उल्लेख गर्दै मन्त्री थापाले उक्त क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए । उनले आगामी निर्वाचन लक्षित कामकारबाही आवश्यकता रहेकोप्रति जोड गरे ।
उनले नेपाली कांग्रेसको महाधिवेशन जुनसुकै समयमा पनि हुने भएकाले पूर्वतयारी अप्नाउन कार्यकर्तालाई आग्रह गरेका छन् । क्षमताअनुसारको जिम्मेवारी दिने गरी यसपालिको महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए । संघीय सरकारमा अवसर पनि राम्रा भएकाले त्यहि अनुरुपको प्रचारप्रसारमा दौडिन मन्त्री थापाले अनुरोध गरेका छन् । गण्डकी प्रदेश केपी शर्मा ओलीको राम्रै पकड भएको क्षेत्र भए पनि त्यसलाई भत्काउन कांग्रेससहितको गठबन्धन सरकार सफल भएको तर्क उनको छ ।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा ३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले मन्त्री थापालाई कांग्रेसको साख जोगिने गरी काम गर्न आग्रह गरे । आगामी निर्वाचनमा कांगे्रसको जीत सुनिश्चित हुने गरी काममै ध्यान दिनुपर्ने विषयलाई उनले उल्लेख गरे ।
नेपाली कांगे्रस पोखरा ३३ भरतपोखरीका पूर्वसभापति भोजराज आचार्यले अघिल्लो सरकारले नगरेका काम अहिलेको सरकारले गरेर देखाएको दाबी गरे । उनले भने, ‘सरकार परिवर्तन भएको धेरै समय भएको छैन । तर कांग्रेस नेतृत्वको सरकारबाट देखिने गरी नै उल्लेखनीय काम भएका छन् । यसको मूल्यांकन हुनुपर्ने आवश्यकता छ ।’ पोखरा ३३ मा सरकार परिवर्तन भएपश्चात राम्रा परियोजनाहरुले गति लिइरहेको भनाइ उनको थियो ।
कार्यक्रममा पूर्व जिल्ला सदस्य विष्णु पौडेल, महासमिति सदस्य केशवप्रसाद निर्दोषी र पोखरा ३३ भरतपोखरी तरुण दलका सभापति भुपेन्द्र थापाको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस पोखरा ३३ का सह—संयोजक दिनेश आचार्यले गरेका थिए ।