गण्डकीका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रदेशको विकास र समृद्धिका कार्यमा कसैले पनि राजनीतिक विभेद साँध्न नहुने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं २१ मा पहिरो गई जोखिम अवस्थामा दाम्सादी पूलको स्थलगत अवलोकनका क्रममा स्थानीयहरुसँग शनिबार छलफल गर्दै उनले निर्वाचनका बेला मात्र राजनीति गतिविधि हुनुपर्नेमा जोड दिए । उक्त क्षेत्रको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता जनाए । क्षतिग्रस्त पुल निर्माणका लागि सोमबारबाट नै इन्जिनियर सहितको विज्ञ टोली खटाई कार्य थालनी गरिने र तत्काल तारजालीको व्यवस्थासहित दीर्घकालीन समस्या समाधानको उपाय खोजिने उनले बताए ।
उक्त क्षेत्रमा अत्यावश्यक बाटो निर्माण लगायत सानातिना योजनालाई यसै वर्ष सम्बोधन गर्ने उनले बताए । संघले सुरु गरी अलपत्र परेका बाटो निर्माणका योजनालाई संघकै पहल हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले महानगरपालिका भित्र पनि विकासका दृष्टिकोणले पछाडि परेको वडा नं २१ को विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।
कास्की जिल्लाकै सबैभन्दा अग्लो र लामो दाम्सादी पूल जोखिममा पर्दा त्यो भेगका ७० मध्ये ३० घर उच्च जोखिममा छन् । नेपाली कांग्रेस जिल्ला सदस्य पुण्डरीप्रसाद बरालले विगतका दिनमा पनि नेपाली कांग्रेसको पहलमा विकास निर्माणका कार्य भएको र भौगोलिक विविधतालाई ख्याल राख्दै सहरलाई भन्दा विकासको अग्रभागमा नपरेका वडालाई अझै ध्यान दिनुपर्ने बताए ।
स्थानीय बासिन्दा तारानाथ आचार्यले दाम्सादी क्षेत्रमा भएका समस्याबारे जानकारी गराउँदै आफ्नो गाउँ विकासका कार्यमा बत्ती मुनिको अँध्यारो भएको बताए ।
नेपाली कांग्रेस वडा नं १७ का सभापति देवराज आचार्यले महानगरको समृद्धिका लागि पिछडिएका वडाको विकास अनिवार्य भएको र यसमा स्थानीय सरकार पनि गम्भीर भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।
दम्सादी टोल विकास संस्थाका अध्यक्ष उमानाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस वडा न. २१ का सभापति केवल गिरी, सामाजिक व्यक्तित्व शालिकराम भण्डारी, सन्तोष आचार्य लगायतले उक्त क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।