प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन दुईवटा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा बुधवार निवेदन दिएको बताएका छन्।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरी दल दर्ता स्वीकृत गरिने जनाएको छ।

माधवकुमार समूहले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

दल दर्ताका लागि आयोग पुगेका नेतामध्ये एक राजेन्द्र पाण्डेले “नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्ने नदेखेर छुट्टै दल दर्ताको निर्णय लिएको” सञ्चारकर्मीलाई बताए।

वरिष्ठ नेताका रूपमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल रहनेगरी बनाइएको नयाँ पार्टीको केन्द्रीय कमिटीबारे उनले भने, “बाँकी सबै केन्द्रीय सदस्य छौँ र सँगसँगै हामीले आजैको दिन ९५ जनाको केन्द्रीय कमिटी गठन गरेका छौँ। त्यो केन्द्रीय कमिटीमा संलग्न नेताहरूको नाम पछि सार्वजनिक गर्नेछौँ।”

अर्कोतिर जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहले पनि बुधवार नै नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ।

ठाकुरको नेतृत्वमा नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ।

वरिष्ठ नेता राजेन्द्र महतो रहनेगरी २४ सदस्यीय कार्यकारिणी समिति बनाइएको नेताहरूले बताएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 165 Viewed

प्रतिक्रिया दिनुहोस्