अदालतसम्म धाएर न्याय मागेपछि पोखराका ३ जनाले नागरिकता पाउने भएका छन् ।


पोखरा १६ का अनीश गुरुङले आमा ओममाया गुरुङ र पोखरा १६ कै सन्दीप विक र सविन विकले आमा चिनुमाया सुनारको नामबाट वंशजको नागरिकता पाउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट उनीहरुका लागि नागरिकताको प्रक्रिया अगाडि बढेको छ ।

यसअघि उनीहरुले दायर गरेको रिटमा उच्च अदालत पोखराले अनीश, सन्दीप र सविनलाई उनीहरुको आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको थियो ।


उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता नपाएपछि प्रशासनलाई विपक्षी बनाएर उच्च अदालत पोखरामा २०७७ चैत २३ गते रिट दायर गरेका थिए ।

न्यायाधीशद्वय ऋषिराम भण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले २०७८ साउन २० गते जिल्ला प्रशासन कार्यालय कास्कीका नाममा परमादेश जारी गर्दै आमाको नामबाट नागरिकता दिन आदेश गरेको थियो ।


कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा छ । तर पनि कास्की प्रशासनले रोशनलाई नागरिकता दिन इन्कार गरेको थियो । नेपालमै सबैभन्दा पहिला सविना दमाईले आमाको नामबाट वंशजको नागरिकता पाएकी थिइन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 402 Viewed

प्रतिक्रिया दिनुहोस्