‘स्वास्थ र पर्यटनका लागि हाइकिङ’ नारा साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङको १९ औं शृंखला शनिबार सम्पन्न भयो । हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जा फेदीखोला गाउँपालिका ४ आरुखर्क बजारदेखि भिर हुँदै गलेमसम्म हाइकिङ गरेको हो ।
यसै क्रममा फेदीखोला गाउँपालिका ४ का अध्यक्ष माधव सुवेदीले आरुखर्कमा रहेको शाह वंशीय दरबारको भग्नावशेषलाई संरक्षण गरिएको, वडा भएका पर्यटकीय स्थानहरुको पहिचान गरिएको, सर्केटारी आरुखर्क हुँदै पञ्चासे जाने बाटो पिच गर्ने काम भइरहेको बताए ।
विगत २ वर्षदेखि गण्डकी प्रदेशका नयाँ नयाँ गन्तव्यमा हाइकिङ सञ्चालन गर्दै आएकोमा कोभिड महामारीले केही समय हाइकिङ रोकिएको र अहिले अवस्था सामान्य भएको र प्रायः क्लबका सदस्यहरुले खोप लगाइसकेकाले सेनिटाइजर र माक्सको प्रयोग गरी १९ औं शृंखला गरिएको क्लब सदस्य टीका आचार्यले बताइन् ।
फेदीखोला १ सर्केटारी हँुदै गलेम पञ्चासे सडकखण्डको भिरखण्ड २ किलोमिटर ६ सय मिटर लामो रहेको र सोही स्थानमा निर्माणाधीन पार्क तथा पिकनिक स्पटको बारेमा स्थानीय युवा पर्यटन व्यवसायी अशोक लामिछानेले जानकारी गराए ।
क्लबका उपाध्यक्ष तथा संयोजक कृष्ण रानाभाटको नेतृत्वमा आरुखर्ककाे गलेम पुगेको हाइकिङको समूहलाई फेदीखोला पोखरा सम्पर्क समाजका अध्यक्ष अबिनास गुरुङले स्वागत गरेका थिए ।
उक्त समूहले शाह वंशीय आरुखर्क राजाको दरबार भएको स्थान, शिवालय मन्दिर, आरुखर्क बजार, ढुंगे देउराली चौतारी, गलेमको भिर, भिरमा निर्माणाधीन पार्क, गलेम गाउँको अवलोकन भ्रमण गरेको थियो ।