देशभर थप २,२१२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३३ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै सङ्क्रमितको कुल सङ्ख्या आठ लाख सात हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,२९२ पुगेको छ।
आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लाे २४ घण्टामा १२,१०६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ४,०१८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १,८६७ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।
सङ्क्रमितमध्ये ३५ हजारभन्दा बढी घरमा तथा ४,२८० जना संस्थागत आइसोलेशनमा छन्।
अहिले ७५८ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १९३ जना भेन्टिलेटरमा छन्।