देशभर थप ३,११४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १६ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
शनिवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १४,९१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ४,२८५ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ३३ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,६९५ पुगेको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,१९७ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २७ हजार ७ सय भन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।
तीमध्ये २५,०८६ जना घरमा तथा २,६७१ जना संस्थागत आइसोलेशनमा छन्।