नेपालमा पहिलोपटक २०७६ माघ ९ गते देखिएको कोरोनाको सँक्रमणको गतिले गएको बर्षको करिब छ महिना ब्यक्तिको मानवीय जनजीवनसँगै मुलुकी आर्थिक, समाजिक र साँस्कृतिक जीवन खलबल्यायो । यसबिचको करिब छ महिनामा अलिअलि जनजीवन क्रमशः उठ्दै मात्र के थियो फेरि रुप बदलेर र अझ सशक्त बनेर आयो कोरोना । अनि एकपछि अर्को गर्दै करिब करिब सिँगो देश नै लकडाउनमा र निषेधाज्ञा जारीको स्थितिमा छ । सँगसँगै नँया तेस्रो भेरियन्ट रुप व नामबाट सबै उमेर र अवस्थामा मानिसहरुलाई असर गर्ने झनै शक्तिशालीका रुपमा देखापरिरहेको छ भनिन्छ ।
दक्षिणको छिमेकी राष्ट्र भारतमा ब्ल्याक फँङ्गस रोगपछि ब्वाइट फँङ्गस रोग देखा परेको र त्यसको रुप कोरोना सरहको तर फरक रोगका रुपमा आएको भन्ने सम्बन्धित विशेषज्ञहरुको भनाइरहेकोछ । मानिसको बाह्य छाला, मुखको भित्रीभाग, आँखा, मृगौला, गुपाङ्ग हुदै फोक्सो र दिमागसम्ममा असर पार्ने ब्वाइट फङ्गस रोग कोरोना सरहकै र अझ कतिपय सन्दर्भबाट त झनै डरलाग्दो सँक्रामक रोग भन्ने भनाइहरु आइरहेका छन् । अर्कोतिर कोरोनाको नयाँ भेरियन्टको चरण छैठौ चरणसम्म हुन सक्ने आँकलनहरु भइरहेका छन । यी सबै अवस्थाले पृथ्वीमा महामारीका रुपहरु एकपछिअर्को बढ्ने र मानवीय जीवनको मूलमर्ममा प्रहार गर्ने गरी एकपछि अर्को खालका भाइरसहरु चढ्ने डरलाग्दो अवस्थाको आँकलन गर्नुपर्ने अवस्था आएको छ । यसरी महामारी बढ्नुमा इश्वरीय लिला अर्थात पृथ्वीतलमा मानवजातिले गरेका कुकर्महरुको लागि भगवानले दिएको दण्ड ?! सम्झने वा नियमित आवकस्मिकता ? अर्थात प्रकृतिसम्मत मानव बिचार, आहार, बिहार र ब्यवहारको अभावको कारणले हो भन्ने सम्झने ? यो ब्यक्ति ब्यक्तिमा रहेको चिन्तन गुणस्तर र उचाइमा भरपर्ने बिषय हो ।
सबैखाले महामारीबाट जोगिने सबैभन्दा उपयुक्त उपाय के हो ? भनेर सोधियोभने ऐलेसम्म सायद कसैले पनि यही हो भनेर ठोकुवाकासाथ भन्न सक्ने स्थिति छैन । महामारीबाट जोगिने वा महामारीलाई फैलन नदिने उपायका रुपमा अपनाइआएको एउटा पद्दति लकडाउन अर्थात बन्दाबन्दी । स्वःस्फूर्त रुपमा बन्दाबन्दी प्रभावकारी नहुने र स्वः स्फूर्त रुपमा बन्दाबन्दी नीति अनुकूलको जीवनपद्दति अधिकाँश मानिसले नअँगाल्ने भएकोले स्थानीय प्रशासनहरुले जारी गर्ने निषेधाज्ञा अर्को तरिका । यही शैलीमा छ वर्तमानमा नेपाल । निषेधाज्ञा जारीको स्थिति दुइ चार जिल्ला बाहेक सबैतिर केहिनकेही रुपमा जारी रहेको छ ।
गतवर्ष जस्तै यो वर्षपनि करिब करिब आधि समय कस्टप्रद रुपमै बिशेषत कोरोना महामारीकै कारणले बित्दै छ । परिणाम सरकारी वा सार्वजनिक बिकास निर्माणका कामहरु पनि श्रमीक वा कामदारहरुको सहभागिताको कठीनाइ समेतको कारणले ठप्प छन । ब्यक्तिगत निर्माण र उत्पादनका अन्य सन्दर्भहरुमा पनि धेरैतिर रोक लगाइएको छ । बिशेष अनुमति पत्र बिना सवारी साधन नचल्ने वा चल्न नदिइने हुदा आवत जावत सहितका समस्याहरुले कामदार वा श्रमीकहरु नै घर वा डेरामा बन्दी सरहको स्थितिमा रहेकाले ब्यक्तिगत रुपमा आरम्भ भएका बिकास वा निर्माणका कामहरु पनि भइरहेका छैनन । कतै निस्कियोकि महामारी सर्ने डरले नचाहेर पनि घरका सबै मानिसहरु घरभित्रै कोच्चिएर बस्नुपर्ने कहर अर्को कोरोना कहर बनेको छ । भित्र भित्र घरेलू हिँसा वा बिबादहरु बढिरहेका छन । शारीरिक ब्यायाम सहितका आवश्यक दिनचर्याको नियमितताको अभावले अरु रोगहरु बल्झिरहेका छन । उत्पादन ठप्प प्रायः छ । उत्पादित कृषिजन्य वस्तुहरु बजारको अभावमा कुहिरहेका छन् । अभावको अवस्थाको फाइदा उठाएर कतिपय यही मौकामा कालो ब्यापारबाट मोटाइरहेका छन । असहाय गरीब र श्रमजीवीहरुलाई हातमुख जोर्ने साधन र स्रोतको अभाव झनपछि झन बढिहरको छ ।
उदाहरणका रुपमा राप्ती गाउँपालिका भालुवाङ्ग आप्खोली वस्तीमा रहेका मजदुरहरु राशन पानीको अभावमा छटपटाइरहेको भन्ने सामाजिक सञ्जाल (पत्रकार महेश रिजालको फेसबुकमा) र बाग्लङ्गबाट खोटाङ् जान हिडेका एक ब्यक्तिलाई स्वयमभूमा कुटपीट गरी उनीसँगको रु ११०००। लुटपाट गरेकाले बेखर्चिभइ सहयोगको लागि हात थापेकाले आफूले रु ३०००। दिएको भन्ने (बिकास थापाको) अर्थात फेसबुकमा मिति २०७८।२।६ गते राखिएका सामाग्रीहरुले देखाएको कारुणिकतातर्फ ध्यान आकर्षित गर्नुपर्ने स्थिति आएको छ । यसैगरी पकाउन दालचामल नभएर सडकको छेउमा बसेर टोलाइरहेका हेटौडामा मजदुरी गरी जीवन निर्बाह गरिरहेका बाराका रामदेव महतोहरुको जीवनको दशा, महिना मरेपछि घरबेटीलाई जसरीपनि सटर बहाल दिनुपर्ने तर बन्द सटरलाई टुलुटुलु हेरेर दैनिकी बिताएका साना ब्यवसायीहरु, करोडौ बैङ्किङ कर्जालिएर ब्यवसाय सुरु गरेका तर निषेधाज्ञा र बन्दाबन्दीको कारणले ब्यवसायमा तालाबन्दी गर्दै बसेर हरक्षण ब्याजको पीरले चिटचिट पसिना चुहाइरहेका ठूला ब्यापारी र उध्योगपतिहरु, आवश्यक परी उपयुक्त समयमा गन्तब्यमा पुग्न नसकेर आफन्तको मुख हेर्न वा आफन्तलाई दागबत्ति दिनसम्म पनि नपाएका ब्यक्तिहरु आदि सबै सबैको बसै कहरको जरो कोरोना कहर मात्र होइन यसको ब्यवस्थापनमा देखिदै गएको झन पछिको झन् कमजोरी पनि हो
राज्य (प्रशासन) ले लकडाउन घोषणा गर्छ वा कोरोनाको प्रभाव जनजीवनमा नपरोस भनेर निषेधाज्ञा जारी गर्दछ । तर अरु को को निस्केका रहेछन बाटोमा भन्ने सोँच्दै लखर लखर गर्दै एउटा आफूलाई सचेत नागरिक भन्ने मूल्यवान मोबाइल हातमा समाउँदै हिडिँरहेको हुन्छ । अस्पत्तालमा बिरामीलाई खाना लिएर गइरहेको बृद्दलाई सोध न पुछ एउटा वर्दिधारीले उ माथि लाठी बर्साउँछ । उता पहूँचको आधारमा सवारी पास लिदै छरछिमेक वा इष्टमित्र भेटन एउटा पहूँचवाला यत्रतत्र हिड्छ र परोक्ष्य रुपमा लकडाउनमा बसेकालाई गिज्याउँछ ।
सरकारले लकडाउनमा कर्मचारीहरु जान नसक्ने र सेवाग्राहीहरु कम जाने हुनाले सबै कर्मचारीको कार्यालयहरुमा आवश्यकता पनि नपर्ने मान्यताका आधारमा सार्वजनिक बिदाको घोषणा वा सरकारी सेवामा सँकुचन गरी अत्यवाश्यक सेवावाहेकका अरु सेवाहरु बन्द गर्दछ तर कुनै कर्मचारी अनैतिक खालमा वा बेतालमा दीनचर्या बिताउन पुग्दछ । घरमा बसिरहेको कुनै कर्मचारीलाई आलोपालो पद्दतिका आधारमा कार्यालयमा आउन सूचना जारी हुन्छ तर घरमा बसिरहेको कर्मचारी कसरी आउने यस्तोवेला ? भनेर उल्टै प्रश्न गर्दछ । वर्षौदेखि आफ्नो उध्योगमा काम गर्ने कर्मचारी वा मजदुर खान नपाएर छटपट्टिन्छ तर कुनै उध्योगपति वा कुनै मालिक म कुनै सहयोग गर्न सक्ने अवस्थामा छैन भनिरहेको हुन्छ । खाइपाइआएको तलवको एक भाग कर्मचारी वा मजदुरले एकभाग सम्बन्धित उध्योगपतिले र एकभाग सरकारले बेहोर्ने नीति अबलम्बन गरौँ न त भन्योभने कुनै उध्योगपति वा कुनै मालिक त्यो पनि सकिदैन भन्दछ सायद ।
यहीबिच कतिको मानसिक अवस्था बिग्रिइसकेको छ । भित्र भित्र कति अपराधहरु भइरहेका छन । त्यसको लेखा जोखा छैन । बाध्यतावस प्रदेशिएका करिब चालीस लाख नेपालीहरुमध्ये आधि जसो नेपालमै आउने र नेपाली भूमिमै मर्ने याचनाका साथ दशगजामा वा अन्त कतै बसिरहेका छन तर ति चित्कारहरुको सँवोधन हुन सकिरहेको छैन । गाँउ घरका साग सब्जीहरु बिक्री व्यवस्थापनको बजार अभावले कुहिएर जाने वा पशुजन्य प्राणीको खाध्य सामाग्री बन्ने अवस्थामा पुगेका छन । अरु त अरु गाई भैसीको दुध पनि बिक्री हुन सकिरहेको छैन । नेपालीभूमिमा उत्पादन भएका खरबुजा, तरबुजा र विभिन्न तरकारीहरु बिकृ नभएका बेथाहरु सडकमा छरपस्टिएका छन् उता ट्रकका ट्रक तरकारी दक्षिणी सिमाबाट ओइरिएका बेथाहरु छन । अर्कोतिर नेपालकै एक गाउँबाट अर्को गाउँमा तरकारी वा दुध वा अन्य खाध्य सामाग्री लैंजान पनि रोक लगाउनेहरुको ताँती बढिरहेको छ ।
जहाँसुकैको नेपाली होस । बिरामी भनेपछि जहासुकैपनि लान वा उपचारका लागि जान पाउने उसको मौलिक हक र राज्यको नागरिक प्रतिको कर्तब्य हो तर हाम्रो क्षेत्रको अस्पत्तालमा अर्को क्षेत्रबाट कोरोना बिरामी ल्याउन पाइदैन भन्नेसम्मका आवाजहरुपनि बढिरहेका छन । उफ ! कोरोना कहर पनि कति कति ?? आफन्त कोरोना बिरामी भएर उपचारमा ल्याएको बखत त्यसरी अरुले बिरोध गर्दा कति रुन्दछ होला आफ्नो मन भन्ने सोँच्दैन उ । कोरोना त रोग पो हो त । कोरोना सँक्रमित कुनै बिरामीले मान्छेले मान्छेलाई दुरदुर गर्ने कुनै कुकर्म गरेको हुदैन । उसलाई छोइछिटो हाल्नुपर्ने किन आजको मान्छेले ? कोरोना सर्लाकि भनेर जोगिन भनिएला । तर उपचारकै लागि यो वा त्यो क्षेत्र भनियो भने उपचारबिहिन रुपमा सबै पर्दै र मर्दै जाने दिन कसरी नआउला ? कोरोना अरुलाई लागेपनि मलाई र मेराजतिलाई नलागोस अथवा मेरा ठाउकालाई नलागोस भन्ने मानसिकताले मात्र लिनु वा काम गर्नु हुदैन ।
कसैलाई नलागोस । लागेका जति सबैलाई निको होस । कोरोना नेपालीबाट पुतपुति भागोस भन्ने भावना र कामना हुनुपर्छ।
फेरिपनि भन्नुपर्ने हुन्छ, कोरोना अबको मान्छेका लागि दैनिकी हो । कति पूर्खाहरु टि भि वा हैजा वा यस्तै सरुवा रोगको उपचारको अभावबाट मरे । हो, त्यस्तै हो । आजको पीडीका अगाडि कोरोना उपचारबिहिन बिपत बनेर आएको छ । एकपछि अर्को रुपमा देखा परिरहेको छ । यस्तो लाग्दछ कोरोनारुपी भाइरस अबका केही दशहरुसम्म रहिरहन्छ । समयक्रममा यसको पनि उपचार हुन सक्ला तर छिट्टै उपचार हुने र यसबाट मुक्त हुने भन्ने हुदै होइन र सम्भव पनि छैन । त्यसैले कोरोनाबाट मुक्ति होइन, कोरोना नियन्त्रणका जुक्तिहरु तर्फ सबैको ध्यान जानु जरुरी छ ।
अबको दैनिकी आफू अनुकूल होइनकी अब कोरोना (महामारीहरु) अनुकूल बनाउनु पर्ने अवस्था आएको छ ।केहि काम गर्नु अघि अव सोँच्चु पर्ने भएको छ कि कोरोनाले के भन्दछ वा के गर्दछ । कोरोना अब सबैका निमित्त गणेश पात्र जस्तो कुनै हिन्दूले यज्ञयज्ञादि गर्दा नसम्झि नहुने वा नपुजी नहुने पात्र जस्तो तर मनखुसको होइन कि अनिच्छुक पात्र बनेको छ । पहिला कोरोना पुज अथवा कोरोनालाई पुछ (सोध) अनि मात्र काम सुरु गर ।
तर बिडम्बना कोरोनाबाट जोगिने एकमात्र उपायका रुपमा लकडाउनलाई लिइयो र अझैपनि लिइदैछ । यो झनै कमजोरीको पाटोका रुपमा देखिएको छ ।
पहिला लकडाउन अवधिभरीलाई सरकारी तवरबाटै बिदा समेत दिइयो । तर बिदा भनेको आराम गर्ने वा आफूखुसी गर्ने अवधि हो भन्ने अर्थमा जस्तै बुझियो । अब लकडाउन भनेको कोरोना नियन्त्रणको सर्वोषधि हो भन्ने अर्थमा लिइँदै छकि जस्तो देखिएको छ । एकपछि अर्को लक डाउन र एकपछि अर्को गरी जारी रहेका निषेधाज्ञाहरुले आर्थिक तथा समाजिक चलायमानका दृष्टिमा मुलुक नै करिब करिब ठप्प छ । यसले क्रमशः महाविपत्तिहरु निम्त्याउँदै छ ।
सबैभन्दा ठूलो महाविपत्ति आर्थिक सङ्कटको महाविपत्ति आउँने छ । सम्झौ त बिदेशिएका नेपालीहरु आज होइन, भोलि होइन, पर्सि त अवश्य आउने छन । नेपाली भूमिमा गैरसरकारी क्षेत्रमा रोजगारी पाएका करिब पच्चीस लाख जति पनि बेरोजगार बन्ने अनि लकडाउन लकडाउन भन्दै भित्र बसेर न उत्पादन न उत्साहको नेपाली दीनचर्या यसरी नै गयो वा भयो भने कस्तो होला सङ्कटको भयावहता ? अरु त अरु सरकारी कर्मचारीहरुले पनि आधा तवल पाउने र पेन्सनमा निस्केकाहरुले पेन्सन नै पनि नपाउने र कसैको घरमा केही पाकेको पनि बाँच्नका लागि छिमेकीहरु आएर खोसेर खाइदिने स्थितिसम्म नपुग्ला भनेर ढुक्क हुने कसरी ? त्यसैले कोरोनाको डरले कहर माथि कहर थप्ने लकडाउन माथिको लकडाउन वा निषेधाज्ञाको निरन्तर मुलुकी यात्राको नीती होइन, कोरोना विरुद्को लडाइमा सबै बाहिर निस्कनु पर्ने र सबैलाई निकाल्नु पर्ने अवको आवश्यकता छ । तर होसियारीका साथ । सामुहिक जिम्मेवारीवोध र ब्यक्तिगत त्यागको भावनाका साथ ।
कोरोना प्रभावितको उपचार र कोरोना सँक्रमणको नियन्त्रणका हरेक उपायहरु अब घर वा कोठा भित्र बसेर वा बसाएर होइन, युद्दको मैदानमा उत्रिएर गर्नुपर्ने र गराउनु पर्ने अवस्था ढिलो भइसकेको छ । यसरी सम्झौ कि, कोरोना कडा ज्वरोसहितको कडा रुघाखोकी लाग्ने सरुवा रोग हो । के के गर्दा सरुवा हुनबाट जोगिन्छ, त्यसतर्फ बढी दृष्टि पुरयाउँ । ध्यान दिउँ । औषधि विज्ञान वा वैज्ञानिकहरुले यसको उपचारको नयाँ खोज बाहिर नल्याएसम्म यसको उपचार मनतातो पानी हो र कोरोना नियन्त्रण स्वनियन्त्रित बानी नै हो भन्ने सम्झौ । यसरी पनि भन्न सजिलो छ तर परेपछि थाहा हुन्छ कोरोना कहरको मर्म र कोरोना कहरमा तडपिएकाहरुप्रति निर्बाह गर्न नसकेको मुलुकी र मानवीय धर्म ज्यादै सँवेदनशिल अवस्थामा पुगेको छ ।
कोरोना प्रभावबाट क्रमशः बढिरहेका स्वास्थ्य, आर्थिक, न्यायिक, समाजिक, साँस्कृतिक एवम राजनीतिक कहरहरुलाई यसबिरुद्दको सँघर्षको बिकूल फुकेर उठौँ । कोरोना नियन्त्रणका लागि आ-आफ्ना सोँच, आनी र बानीमा परिवर्तन गर्दै पानीको भरमा भएनि जति बाचिन्छ । सँघर्ष गरेर र सकेसम्म हासेँर बाँचौ । कोरोना कहरको डरले घर वा डेरा कोठाभित्र कुञ्जिएर नमरौ । सरकारी नीति नियम र कोरोना नियन्त्रणका दूरी कायम सहितका आधारभुत नियमहरुको पालाना गरौँ । आजको वैज्ञानिक युगमा ‘’कस्ता कस्ता कहाँ गए झुसे बारुलाँ’’ भन्ने उखान सम्झेर भएपनि आँट गरौँ । कोरोनासँग डराएर घरको दूलाभित्र लुक्न वा लुकाउन आजको मान्छेलाई उसको चेतना र समय दुबैले सुहाउँदैन । सुहाउदै, सुहाउँदैन । कोरोना नियन्त्रण बिरुद्द जुटन र जुटाउन सुहाउँछ । अब राज्य वा समुदायस्तरबाट बन्दाबन्दी वा निषेधाज्ञाको बिकल्प खोज्नुपर्ने वेला आइसकेकोछ । अन्यथा हुनेखाने केही सँख्या त भकारीको झिकेर खाएर बाँच्ला अथवा चेकहरु सटही गरेर दीनचर्यामा नाँच्ला । दैनिक श्रम गरेर खाने वा खेतीपातीले वर्षभरी खान नपुग्ने देखि दैनिक रुपमा श्रमगरी प्रत्येक दिनको कमाइले प्रत्येक छाक टार्ने करिब आधाकरोड नेपालीहरुको भविष्य झन पछि झन कहालिलाग्दो हुनेछ ।
अब थेक्न सक्दैन नेपाली माटो र मनले बन्दाबन्दी र निषेधाज्ञालाई । त्यसैले जारी बन्दाबन्दी र निषेधाज्ञालाइ जतिसक्दो छिटो पहिला आँशिक रुपमा र केही समय पछि पूर्ण रुपमा खुला गरौ । समूहगत रुपमा काम गर्ने कलकारखाना लगायतका सार्वजनिक स्थानहरुमा एकपटक उपस्थित भएर श्रमगर्ने मानिसहरुको सँख्या निर्धारण गरौ । श्रमीक वा कामदार वा कर्मचारीहरुलाई दुइसमूहमा बिभाजन गरेर उत्पादनका कामहरुलाई स्वास्थ्य रक्षाका सम्भव भएसम्मका सबै उपायहरु अपनाएर सञ्चालन र ब्यवस्थापन गरौँ । बिध्यालयहरु र महाबिध्यालयहरुलाई अत्यवश्यक बिषयहरुमा भौतिक रुपमा क्रमशः सिमित उपस्थितिको ब्यवस्थापनबाट र अरुमा सूचनाप्रविधिको माध्यमबाट पठनपाठन गर्ने बिधि र प्रकृयालाई बिस्तार गरौ । बस वा सार्वजनिक यातायातका साधनहरुलाई प्रारम्भमा आधा सिट बराबरको सवारी बहन गर्दै र गराउदै क्रमशः सिट बराबरको सेवाको अनिवार्यतामा लैजाउ । बिचार, आहार, बिहार र दैनिकी ब्यवहारहरुलाई महामारी प्रतिरोधात्मक शैलीमा लैजानका लागि आमरुपमा जनशिक्षाका साथ आब्हान गरौँ । त्यसतर्फ आ आफ्नो स्थानबाट लागि परौ ।
यतिवेला गरीब श्रमजीवीहरुका लागि राज्यको राहत उपलब्ध गराउने कार्य बिलम्ब भइसकेको छ । बिकास निर्माणका लागि छुटयाएको बार्षिक वजेटको करिब ३५ प्रतिशत मात्र खर्च भएको समकालिन अवस्थामा राज्य (सरकार)को ढुकुटीमा धनको कमी छैन । तर मनको कमी छ । यता सरकारी धन अनुत्पादक काममा, फत्तुर भाषण ब्यवस्थापन र तुँतुँ मेमे मा खर्च भइरहेका छन अर्कोतिर श्रमजीवी गरीब नेपालीहरुको छाक बस्ने अवस्थामा पुगेका छन् । त्यसैले गरीबीको रेखामुनी रहेका श्रमजीवी मजदुर सहितका नेपालीहरुकालागि पूर्ण रुपमा बन्दाबन्दी नखुलेसम्म वा निषेधाज्ञा कायम रहेसम्म स्थानीय तहको माध्यमबाट प्रतिब्यक्ति राहत रकम ब्यवस्था गर्न ढिलाभइसकेको छ । अमेरिकी राज्य सम्पन्न भएकाले मासिक १२०० डलर दिइरहेको छ होला । तर छिमेकी भारतले पनि त रासन कार्डको माध्यमबाट तीनमहिनाका लागि खाध्यन्न सहितका अत्यवश्यक सामाग्रीहरु उपलब्ध गराइरहेको छ । जारी रहेको महामारी र बन्दाबन्दीको अवस्थामा विश्वका प्रायः सबैदेशले श्रमजीवी गरीवहरुका लागि केही न केही राहत उपलब्ध गराइरहेका छन तर नेपाल एउटा त्यस्तो मुलुक भएको छ जँहा ‘’सहर जलिरहेको छ तर निरो बासुँरी बजाइरहेको छ’’ जस्तो भएको छ ।
हेरौ त, जारी रहेका एकपछि अर्को राजनीतिक तिकडम र झपेटाझपेटहरुका दृश्यहरुलाई ! पीर नेपालीको धन ज्यान र भविष्यको होइन कि राज्य शक्तिमा कसरी रहिरहने र राज्यको स्रोतमा हात कसरी लगाइरहने भन्ने पीरछ । ब्यक्तिपोषण र राज्यधनको शोषणको पीरछ जस्तो स्थितिमा छ ।
अक्षरमा सँविधान छ । कानुनहरु छन् । तर ब्यवहारमा क्रमशः निश्प्राण हुनेतिर गइरहेका छन् । सँविधान र कानूनहरु तथा राज्यको शक्ति र स्रोत के का लागि ? सोझो अर्थमा भन्न सकिन्छ जनताको राज्यको स्वाधिनताको रक्षा र जिउधनको सुरक्षाका लागि अनि समुन्नत भविष्य निर्माण र ब्यवस्थापनको लागि । जनता (नागरिक) नरहे वा नागरिकहरु शारीरिक, मानसिक एवम आर्थिक रुपमा सबल रहन नसके राज्यको के अर्थ र सरकारको के कर्म वा के धर्म ? फेरिपनि भन्नुपर्ने हुन्छ, यतिवेला सरकारको ढुकुटी कमजोर छैन । कमजोर भनेको साँचो अर्थमा हुनुपर्ने जनसेवारुपी मनको र ब्यवसथापकीय क्षमताको छ ।
आउने रिमिटयान्स अझै चिन्ताजनक अवस्थामा पुगेको छैन । बैदेशिक सहयोग अझै सुकेको छैन । श्रमजीवी नेपाली पाखुराहरु अझै सवलछन र जहाँरहेपनि नेपालीको शिर अझै झुकेको छैन । राज्य सञ्चालनको नीतिहरुको कारणले मात्रै पनि होइन, थितिहरुको नराम्रो अर्थात ब्यवस्थापनको कमजोरीले दिनप्रतिदिन नेपाल खस्कदो छ । विश्वमान चित्रमा असफल राष्ट्रको रुपमा आफूलाई पस्कदो छ ।
कोरोना कहर सँगै बढेको यो चिन्ता सबैको सामुहिक चिन्ताको बिषय हो । त्यसैले आउनुहोस जारी निषेधाज्ञालाई जतिसक्यो छिटो अन्त्य गरौ । जारी बन्दाबन्दीलाई क्रमशः खुलाउ । छाक टार्न नसकेर वस्ती वस्तीहरुमा तडपिरहेका नेपाली आत्माहरुको भरथेकका लागि कम्तिमा बाच्ने जाउलो ततकालका लागि राज्य (सरकार)का तर्फबाट गर्ने वा गराउनेतिर लागौ । कोरोना कहरका बिचमा जारी रहेको निषेधाज्ञाको बिकल्पहरुको खोजी र प्रयोगका साथ नेपाली जनहरु बचाउँ । नेपालीमनहरु जोगाउँ । आफू बाँचे सँसार देखिन्छ । अरुलाई बचाए जनजनका मनमा लेखिन्छ र लेखिन्छ सकारात्मक इतिहाँस पनि ।
राज्य (सरकार)सँग पैसा सकिन लागेको दिनमा पनि समस्याको दीगो समाधानका लागि चिन्तन गर्नेहो र साच्चै मातृभुमि नेपालका लागि नेपाली भएर सोँच्नेहो भने ततकालीन आर्थिक स्रोतको जोहो गर्ने उपायहरु धेरै छन । उदाहरणका लागिः
(१) धनी महाजनहरुसहितका मनकारी मनहरुलाई आब्हान गर्ने । हेरौ त आजपनि कतिपय स्थानहरुमा मनकारी मनहरुले ब्यक्तिगत वा सामुहिक वा सँस्थागत रुपबाटैपनि कोरोना कहरका बिचमा रहेका असहाय र गरीवहरुलाई खाने बस्ने ब्यवस्था गरिरहेका छन।
(२) सरकारी खर्चमा मितब्ययिता कायम गरेर जनस्वास्थ र सार्वजनिक हितका लागि समुचित प्रयोग गर्ने ।
(३) बिदेशमा रहेका राजदूतहरुलाई र करिब चालिसलाख श्रमजीवी नेपालीहरुलाई सक्दो प्रयास र सहयोगका लागि आब्हान गर्ने । कतिपयले आजपनि स्वतःस्फूर्तरुपमा सहयोगी हातहरु उठाइरहेका छन ।
(४) रोजगारीमा रहेर नियमित आयआर्जन गर्नेहरुबाट निश्चित रकम मासिक रुपमा जनराहत कोषका लागि छुट्याउने नीति लिने । र
(५) अप्ठयारै पर्दा सभासदसहितका जनप्रतिनिधिहरु र विशिष्ठ श्रेणी वा सो भन्दा माथिल्ला तहका राष्ट्रसेवकहरुले पाउने पारिश्रमिक वा भत्ताको आधि रकम जनराहत कोषमा राख्ने नीति अबलम्बन गर्न सकिन्छ । ८८४ सभासद, ३६६२९ जनप्रतिनिधिहरु, करिब १००० विशिष्ठ श्रेणी वा सोभन्दा माथिल्लो तहका राष्ट्रसेवकहरु पछिल्लो उपायबाट मात्रैपनि मासिक करिब एक अर्ब रुपैयाँ जम्मा हुन सक्दछ ।
यसको सफल ब्यवस्थापनका लागि चाहिने भनेको (१) केही नौलो नगरी नजाउ भन्ने अठोट, (२) आफू मिटाइ अरुलाई दिनु जँहा छ भन्ने मन र (३) मरेर पनि बाँचीरहने सपना ।
आगे, मुलुकी शासन ब्यवस्थाको मुलचौकामा बसेर मुकुट मसार्दै ढुकुटी चलाइरहेका मुर्धन्यहरुको जो बिचार !