विश्वव्यापी फैलिएकाे काेराेना भाइरस ( काेभिड १९) काे दाेस्राे लहरकाे महामारीले नेपालमा पनि जटिलता निम्त्याएकाे छ । पछिल्लाे समय दिनानुदिन तिस भन्दा माथि मृत्यु र ५ हजारकाे हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । यहि अनुपातमा संक्रमित थपिदै गएमा यहाँका स्वस्थ्य संस्थाले विरामिकाे चापलार्इ थेग्न नसक्ने अवस्था सृजना हुन सक्छ । महामारी फैलिदै गर्दा जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डेले काेराेना भाइरसका विषयमा सरकार, जनसमुदाय, पत्रकार, काेराेना संक्रमित लगायतलाइ सामाजिक सञ्जाल मार्फत चेतनामूलक सुझाव दिइरहेका छन् । यस्तैमा सुक्रवार पाण्डेले अाफ्नाे फेसबुकमा होम आइसोलेसनमा बसेका काेराेना भाइरस संक्रमितलाई १६ बुदे सुझाव दिएका छन। जसलाइ ५ घण्टामा फेसबुक प्रयाेगकर्ता करिब ४ हजार जनाले शेयर र हजाराैकाे संख्याले साभार गरेका छन । जुन सुझाव बुदागत रूपमा निम्न रहेका छन् ।

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ |

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला | यसलाई प्रोन पोजिसन भनिन्छ | पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला | यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ |

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला | आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ |

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला | यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ | तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला | छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ | कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ |

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला | अक्सिजनले रोग निको गर्दैन | चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ | अक्सिजन उपचार हैन | धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ |

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ | तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला | अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ |

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला | प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन|यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ |

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला |

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला | यसपटकको प्रजाति निकै संक्रामक छ |

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला |

११. पानीको बाफ लिंदा आराम हुन्छ |

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला |

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला |

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला | नआत्तिनुहोला |

१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला | सामाजिक संजाल नहेर्नुहोला | अनधिकृत समाचारले तनाव बढाउँछ |

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला |

अन्तिम पटक अध्यावधिक गरिएको 682 Viewed

प्रतिक्रिया दिनुहोस्