वीरगञ्ज स्थित उच्च अदालत (अस्थायी इजलास) का केही न्यायाधीश र केही कर्मचारीहरु कोरोना सँक्रमणमा परेको भन्ने समाचारले वीरगञ्जप्रतिको सम्झना बढायो र ध्यान आकृष्ट गरायो । करिब अढाइ वर्ष घुमेको र कर्मको माध्यमबाट पवित्र माटो चुमेको वीरगञ्ज पटक पटक सम्झनामा आइरहन्छ । सधै आइरहने पनि छ । यतिवेला त्यहा कार्यरत वरिष्ठतम न्यायाधीश स्वयम सँक्रमणमा परेकोले ब्यवस्थापकीय जिम्मेवारी सहकर्मी वीरबहादुर डाँगीमा रहेको अवस्था समेतलाई मनन गर्दै हाल खबर र ब्यवस्थापकीय सन्दर्भमा कुरा गर्न मन लाग्यो र फोन गरेँ ।‘’ल श्रीमान मैले फोन गर्नै लागेको, कस्तो उही समय क्रममा परेछ…….एकछिन अघि समाचार सुने कि नेपालगञ्ज स्थित भेरी अस्पत्तालमा कोरोना सँक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरु नै अन्य सँक्रमित बिरामीहरुको उपचारमा खटिएर काम गरिरहेको । असाध्यै छोयो श्रीमान । कथाकार वा उपन्यासकार भएको भए भन्ने पो लाग्यो आफैलाई अनि सम्झने श्रीमानलाई……..’’।न्यायाधीश वीरबहादुर डाँगी र मेरा लागि नेपालगञ्जको माटो जीवनको एक स्मरणीय, सँघर्षशिल र सुगन्धित बाटो नै हो । न्यायकर्मीहरु र न्यायार्धीहरुमा धेरै परिचित रहेको स्थान । खुलेर प्रँशसा गर्ने र मनखोलेर समालोचना गर्नेहरु तर भित्रीमनमा प्रभावकारी न्यायको उद्देश्य राख्नेहरुको ताँती । सम्झनाका तरेलीहरुमा नेपालगञ्ज बाँचुञ्जेल रहिरहने कर्मभुमी हो हामी दुबैका लागि । प्रकाशित र प्रशारित उक्त समाचारले झनै नेपालगञ्जप्रतिको सदभाव, लगाव र सहभाव जगाउन पुग्यो । केहीलाई फोन पनि गरे तर मनभने तिनी चिकित्सकहरु र तिनै स्वास्थ्यकर्मीहरु जो कोरोनाबाट आफै सँक्रमित छन् तिनीहरु नै सकेसम्म कोरोना सँक्रमित अन्य बिरामीहरुको हेरचाह र उपचारमा निरन्तर लागिरहेका छन् !? यो भन्दा ठूलो समर्पण चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुको के हुन सक्दछ ? घर परिवार आफन्तहरु कराइरहेका छन् एकान्तवासका लागि र सँक्रमणको थप मारबाट जोगिनका लागि तर सकेसम्म काममा खटिरहेका छन् । आफ्नो ज्यानको बाजी राखेर अरुको ज्यान बचाउन लागिरहेका छन् । मानवताको शिखरमा जागिरहेका छन् । भनिन्छ, युद्दमा गोलीलागेको सिपाही आफै छटपट्टिरहेको हुन्छ तर अर्को साथी गोली लागेर घाइते भएको देख्योभने नजिक गएर शान्त र आश्वस्त पार्न खोज्दछ । अर्कोतिर दुश्मनलाई परास्त गर्नका लागि घस्रेरै भएपनि हतियार चलाउन चाहन्छ । अर्थात आफू मर्न परेपनि युद्द जित्न चाहन्छ र आफू मरेपनि साथी बाँचेर युद्द जितियोस भन्ने ठान्दछ, हो समर्पणको यही उच्चतम शिखरमा रहेका छन् यतिबेलाका केही चिकित्सकहरु र केही स्वास्थ्यकर्मीहरु ! ओटी, इमर्जेन्सी, पारामेडिक, आइसियु सबैतिर कार्यरत चिकित्सकहरु र स्वास्थकर्मीहरु कोरोनाबाट सँक्रमित छन । भेरी अञ्चल अस्पतालमा ७० जना र नेपालगञ्ज मेडिकल कलेजमा ३० जना सँक्रमित छन । मँगलवार मात्रै बाँकेमा ६३१ जना सँक्रमित देखिए । सास जानै आँटेका बिरामीहरु आउँछन प्रबेश निषेध कसरी गरुन उनीहरु ?! वार्डका कुना काप्चामा वेडहर थपेर बिरामीहरुको उपचार गरिरहेका छन् । भनिन्छ, अब बाहिर चौरमा पाल टाँगेर सकेसम्मको उपचार गर्नुपर्ने स्थिति आइसकेको छ । भित्र बिरामीहरुले बेड पाइरहेका छैन तर चिकित्सकहरु र स्वास्थकर्मीहरु कसरी अस्पत्तालै बेडमा बस्न सक्दछन् ? सक्दैनन । बिरामीहरु मृत्युसँग लडिरहेका छन, चिकित्सकहरु र स्वास्थकर्मीहरु टुलुटुलु हेरेर बस्न सक्दछन ? सक्दैनन । किनकी उनिहरुमा मानवता छ । धर्म छ । दया छ । करुणा छ । समर्पणभाव र लगाव छ । त्यसैले आफू मरेपनि मरियोस तर उपचारमा निरन्तरता दिनुपर्छ भनेर लागि रहेकाछन् । धन ठूलो भनेका छैनन मन र मानवता ठूलो भन्ने सम्झदै चिकित्सक र स्वास्थकर्मीहरु ज्यान फालेर लागिरहेका छन् । स्याब्बास चिकित्सकरु र स्वास्थ्यकर्मीहरु । जाग र लाग । बेला यही हो पीडाहरुमा मल्हम लगाउने । धर्म कमाउने र सेवाभाव जगाउने । किनकी अर्धमि, पापी, अविवेकी, अज्ञानी, अदूरदर्शी,अब्यवस्थापक, अर्थात सबै सबैलाई प्रेरणाजगाउने भनेकै सुकर्मको माध्यमबाटै हो । यो घडी, सँकटमा आफन्त छिमेकी र मानवताको वास्तविक पहिचान हुन्छ भन्ने भनाइको परीक्षाको घडीपनि हो। सबै तहका सरकार र स्थानीय प्रशासनको यसतर्फको सँवेदनशिलता कत्ति छ ? खुट्टी देखेरै पत्याउनु पर्ने अवस्था छ । स्वास्थ्यसँकटकाल लगाएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितका सबैक्षेत्रमा चिकित्सकहरु र स्वास्थकर्मीहरुलाई खटाउदै आवश्यक स्रोत र साधनहरुसहित विज्ञहरु पठाउदै युद्दस्तरमा व्यवस्थापन गर्नुपर्ने बेला होइन यो ? स्वास्थ्य सँकटकाल लगाएर युद्दस्तरमा स्वास्थ्य उपचारको व्यवस्थापन नगर्नेहोभने नेपालगञ्ज बीरगन्ज आदि सक्रमँणको चापमा परेका क्षेत्रहरु चिहान वा कब्रस्तानले भरिने छन र कँगोमा जस्तो मान्छे गाडने वा दाहासँस्कार गर्नुपर्ने स्थान खोज्दै भौँतारिनुपर्ने अवस्था आउन सक्दछ ? यो खबरदारी होइन, अन्तरमनबाट चुहिएको मानवताजन्य आँशुको थोपा मात्र हो । कतिलाई लाग्ला आफै रोगले समातेको मान्छे कसरी उपचारमा खटिने ! अर्थात आफै त ‘’महादेव उत्तानो पर ! कल्ले देला वर!!’’ भन्नेपनि लाग्दो हो तर बिषय त्यती सहज र सरल छैन । मानवताको गहिराइलाई चुम्नेहरु र स्वास्थ्य सेवालाई सेवाको सबैभन्दा महानतम यात्राका रुपमा सम्झेर कर्मक्षेत्रमा घुम्नेहरुका लागि यो अवसर र चुनौति दुबै हो । आफू त महादेव उत्तानो पर कल्ले देला वर होइन कि आफू महादेव भएपनि सेवामा सधै लागि पर’’को भाव र लगावको समय हो । आफू महादेव (सँक्रमित रोगी)! नै भएपनि अरुलाई उपदेश (उपचार) दिन लालयीत र सकृय रहने ति सबै सबै चिकित्सकहरु र स्वास्थकर्मीहरु प्रति लाख लाख सलाम छ । तिम्रो सेवाको यात्रामा बिराम नलागोस । तिम्रा भाव र लगावहरु देखेर समग्र चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुमा त्यस्तै भावना जागोस । सबैतहको सरकार र स्थानीय प्रशासन सबै सबैका चेत खुलुन । बस यही शुभ कामना । यही बन्दना । प्रिय नेपालगञ्ज (बाँके) स्वास्थ्य सँकटकालको आजको अवस्थामा मेरो मात्र यही सहभाव र शुभकामना छ । तिम्रो पावनभूमिमाा नटेकेको र तिमीलाई नदेखेको धेरै भयो । समयक्रममा तिमी सकुशल अवश्य रहने छौ । म सलाम नेपालगञ्ज भन्दै आउने छूँ । मलाई बिश्वास छ । निष्पक्ष र प्रभावकारी न्याय प्रतिको र मानवतावादको सम्मान र उचाइप्रतिको तिम्रो भाव, लगाव सहयोग र समर्पण उही रुपमा रहेको पाउने छु । नेपालगञ्ज तिमी धन्य छौ । किनकी मरेरपनि बाँचीरहने चिकित्सकहरु र स्वास्थकर्मीहरुका बिचमा तिमी छौ । सलाम ति चिकित्सकहरु र स्वार्स्थ्यकर्मीहरु जो स्वयम कोरोनासँक्रमित भएर पनि कोरोना सँक्रमित बिरामीहरुको उपचारका लागि अहोरात्र खटिरहेका छन ति सबैलाई र तिमीलाई पनि सलामवालेकूम अनि जलान अर्थात जयनेपाल, लालसलाम र नमस्ते ।

अन्तिम पटक अध्यावधिक गरिएको 274 Viewed

प्रतिक्रिया दिनुहोस्